लोकतान्त्रिक खेलकुद संघको आकस्मिक बैठक सम्पन्न, चार बुँदे निर्णय सार्वजनिक

काठमाडौँ, भदौ ३० — नेपाल लोकतान्त्रिक खेलकुद संघको आकस्मिक बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठकले हालैका समसामयिक राजनीतिक घटना तथा देशव्यापी आन्दोलनका विषयमा गहन छलफल गरी चार बुँदे महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

देउवा दम्पतीमाथि भएको आक्रमणप्रति भर्त्सना

बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथि हालै भएको हातपात र दुर्व्यवहारलाई असभ्य, अमानवीय र लोकतान्त्रिक संस्कृति विपरीत भएको ठहर गरेको छ। संघले यस घटनाप्रति घोर भर्त्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि व्यक्त गरेको छ।

श्रद्धाञ्जलि र समवेदना

बैठकले जेन जेड (ZEN Z) आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै आन्दोलनमा घाइते भएका युवाहरूको छिटो स्वास्थ्य लाभको कामना गरेको छ।

छानबिन र कारबाहीको माग

आन्दोलनकै क्रममा देशभरि भएको धनजनको क्षतिको सत्यतथ्य छानबिन गरी वास्तविक दोषीलाई पहिचान गरी कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग संघले प्रस्तुत गरेको छ। यससँगै आगामी दिनमा यस्ता घटना नदोहरियोस् भन्नेमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता पनि बैठकले औंल्याएको छ।

संविधान दिवसमा कार्यक्रम

बैठकले नेपाली कांग्रेस पार्टीको निर्देशनअनुसार आउँदो असोज ३ गते संविधान दिवसका अवसरमा केन्द्रदेखि जिल्ला तहसम्मका सबै समितिहरूले विविध कार्यक्रम आयोजना गर्न र सक्रिय सहभागिता जनाउन निर्देशन दिने निर्णय गरेको छ।

लोकतान्त्रिक मूल्यप्रति अडान

संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, संवैधानिक अभ्यासको निरन्तरता र खेलकुदमार्फत समाजमा एकता, शान्ति र जागरण फैलाउने अटल प्रतिबद्धता व्यक्त गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ