
नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग बिहीबारदेखि पोखरामा हुने भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भोली तथा जेठ ८ देखि १५ गते सम्म प्रतियोगिता हुने भयकोछ । पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी १४ टिम प्रतियोगितामा सहभागी हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, एपीएप क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र मणिमुकुन्द भलिबल क्लब सहभागी हुने उनले बताए । महिलातर्फ नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस्, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टिम सहभागी हुनेछन् । सहभागी टिमले ३ जनासम्म विदेशी खेलाडी समावेश गर्न पाउनेछन् ।
प्रतियोगितामा विजेता बन्ने पुरुष र महिला दुवै विधाका टिमलाई समान पुरस्कार राखिएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ लाख, ४ लाख र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दुवै विधाका सर्वोत्कृष्ट खेलाडीले ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँ पाउने संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए । संघले प्रतियोगितामा सहभागी सबै खेलाडीहरुको दुर्घटना बिमाको समेत व्यवस्था गरेको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने संघको अनुमान रहेको छ ।