
कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सानदार जीत दिलाईन । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनलाई ६ विकेटले हराएको छ । वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा गरेको हो । कुनै समय ३.५ ओभरमा २३ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कप्तान इन्दुले ७ बलमा अविजित रहदै २४ रनको पारी खेलेकी हुन्।
उनले पाँचौं ओभरमा लगातार ३ चौका तथा छैटौं ओभरमा १ चौका र १ छक्का प्रहार गर्दै नेपालको जित पक्का गराइकी हुन्। त्यसअघि सम्झना खड्का ५, रुबी पोदार १, कविता जोशी शून्य र पुजा महतो १३ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएपछि वर्षाका कारण खेल रोकिएर पुन: सुरु हुँदा नेपालले ७ ओभरमा ५६ रनको परिमार्जित लक्ष्य पाएको थियो । बहराइनले दुवै खेलमा नेपाललाई चुनौती पेश गरेपनि नेपालले जित निकाल्न सफल भए । साथै अबको समूहको अन्तिम खेलमा हङकङ र बहराइन भने भोली शुक्रबार खेल्ने छन् ।
उक्त खेलमा हङकङ विजयी भएमा वा वर्षाले खेल नभएमा नेट रनरेटका आधारमा हङकङ सुपर ३ मा पुग्दा नेपाल भने बाहिरिनेछ । नेपाल अघि बढ्न बहराइनले हङकङलाई हराउनु पर्ने दबाव रहेकोछ ।