आयोजक टोली टाइगर ग्रुपले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित फाइनल खेलमा साविक विजेता एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोलीले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेटमा पुगेको थियो ।
पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । टाइगरले पहिलो पटक फाइनल खेल्दा नै उपाधि जितेको हो ।
उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । आजै पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
