नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकीकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गरेका हुन् । यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो ।
‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेसनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राखेका हुन् ।
यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । उक्त फेस्टिबलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कंगो इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो ।
