जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका सदस्यलाई सम्मान गरेका छन् । आइतबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनले टिम क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई सम्मान गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि पाँच विकेटको विजय हासिल गरेको थियो ।

प्रधानमन्त्री ओलीले आउँदा दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिए । विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न उनले आग्रह गरे ।

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान गरिएको उनले सुनाए । सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका निम्ति गर्नुपर्ने प्रयास निरन्तर हुने उनले अवगत गराए ।

विदेशी खेलाडी नेपाल आउँदा र यहाँको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झन्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने बताए । सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाए ।

संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिए । विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झन्झटिलो प्रक्रिया अन्त्य गराउन उनले आग्रह गरे ।

उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरूलाई खुसी लागेको बताए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ