
उप-विजेता सुदूरपश्चिम रोयल्सका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का सर्वोत्कृष्ट घरेलु खेलाडी घोषित भएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न एनपीएलको पहिलो संस्करणमा दीपेन्द्र सर्वोत्कृष्ट घरेलु खेलाडी घोषित भएका हुन् ।
एनपीएलको सर्वोत्कृष्ट घरेलु खेलाडी बनेसँगै दीपेन्द्रले ओमाडाको गाडी प्राप्त गरेका छन् । उनले एनपीएलको ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिए ।
यस्तै च्याम्पियन जनकपुर बोल्ट्सका ललित राजवंशी सर्वोत्कृष्ट बलर घोषित भएका छन् । १० खेलमा १७ विकेट लिएका ललितले मोटरसाइकल प्राप्त गरेका छन् ।

जनकपुरकै लाहिरु मिलन्था सबैभन्दा धेरै चौका हान्ने खेलाडी र ब्याटिङ अलराउन्डर जिमी निशम ‘इनरजेटिक प्लेयर’ घोषित भएका छन् । लाहिरुले कूल ३५ चौका प्रहार गरे । उनीहरु दुवैले समान २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
एनपीएलमा तेश्रो बनेको कर्णाली याक्सका स्पिनर विपीन शर्मा उदीयमान खेलाडी घोषित भए । उनले ५० हजार रुपैयाँ नगदसहित १० लाख बराबरको क्षात्रवृत्ति प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगिताको ‘फेयर प्ले’ टोलीको अवार्ड लिग चरणको अन्तिममा रहँदै एनपीएलबाट बाहिरीएको लुम्बिनी लायन्सले प्राप्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत मंसिर १५ गतेदेखि शुरु भएको एनपीएलको पहिलो संस्करणमा ७ प्रदेशका विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।