जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको अपराजित यात्रामा ब्रेक लागेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा सुदूपश्चिम रोयल्सँग ७२ रनले पराजित भएसँगै जनकपुरको अपराजित यात्रामा ब्रेक लागेको हो ।
जितका लागि सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटियो। जनकपुरका लागि योसुवा ट्रम्पले सर्वाधिक १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरलाई झिनो रनमै अलआउट गर्न सुदूरपश्चिमका हर्मीत सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २ तथा सेफ जैब, स्कट कुगुलेइन र नरेन साउदले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सेफ जैफले २१ र ब्रेन्डन म्याकमुलनले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका लागि किशोर महत्तोले ४, शेर मल्ल र अरनिको मल्लले समान २ तथा हर्ष थाकरले १ विकेट लिएका थिए ।
जितसँगै ५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम जनकपुरलाई पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ८ अंक नै भएपनि नेट रनरेटमा पछि पर्दै जनकपुर दोश्रो स्थानमा झरेको छ ।
