
टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
दशरथ रंगशालामा आज पहिलो खेलमा नेपालकै गण्डकी प्रदेश भलिबल संघलाई ३-१ ले हराउँदै हेल्प नेपालले लगातार दोस्रो जित निकालेको हो।
हेल्प नेपाल स्पोर्टस क्लबले उत्कृष्ट सुरूवात गर्यो। गण्डकीले पहिलो सेटमा टिपटप हेल्प नेपाललाई चुनौती समेत दिन सकेन।
सुरूवात देखि नै अग्रता बनाएको हेल्प नेपालले १५-७ को अग्रता बनाउँदा पहिलो सेट एकपक्षीय बन्यो। २५-१४ ले पहिलो सेट जित्दै हेल्प नेपालले १-० को अग्रता बनायो। एक सेट गुमाएको गण्डकी विरूद्ध दोस्रो सेटमा पनि हेल्प नेपालले राम्रो सुरूवात गर्यो।
१४-९ को अग्रता बनाउँदा हेल्प नेपालले ५ अंकको अग्रता बनाएको थियो। तर गण्डकीले खेललाई २४-२३ सम्म पुर्याउँदै खेलमा फर्कने कोशिशमा थियो। तर २५-२३ ले दोस्रो सेट पनि जित्दै हेल्प नेपालले २-० को स्पष्ट अग्रता बनायो।
२ सेट गुमाएपछि जितको संभावनालाई कायमै राख्न गण्डकीलाई तेस्रो सेट जित्नैपर्ने दबाब थियो। तर यो सेटमा पनि सुरूवात देखि हेल्प नेपालले अग्रता बनायो। एक समय १४-१० ले हेल्प नेपाल अगाडि थियो। हेल्प नेपालले २०-१७ को अग्रता बनाउँदा सोझो सेटको जित हात पार्ने संभावना उच्च थियो।
तर गण्डकीले उत्कृष्ट कमब्याक गर्यो। खेललाई २१-२१ को बराबरीमा पुर्यायो। २३-२३ को बराबरी पछि गण्डकीले लगातार दुई अंक जोड्यो। यो सेट हेल्प नेपालले २२-२५ ले गुमायो। खेल दुई एकको स्थितिमा पुग्यो। तर यसपछि तेस्रो सेट सहजै २५-१६ ले आफ्नो पक्षमा पार्दै खेल ३-१ ले आनो पक्षमा पार्यो।
लगातारको दोस्रो जितमा हेल्प नेपालले ५ अंक बनाएको छ। हिजो हेल्प नेपालले भारतको क्यालीकट हिरोजलाई ३-२ ले हराएको थियो। गण्डकीको भने यो लगातार दोस्रो हार हो।
