लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।
शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो भने तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ को जित हासिल गर्यो । तर, चौथो सेटमा एपिएफ खेलमा फर्कदैँ २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै संघर्ष गरेपनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो ।
पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले १ लाख ५० हजार रुपैयाँ र एफिएफले १ लाख एक सय ११ रुपैयाँ हात प्राप्त गर्यो। शुक्रबार फाइनल खेल खराब प्रकाशका कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिवार खेलाइएको थियो ।
पुलिसका सञ्जुविक्रम शाह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ , उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहा, उत्कृष्ट ब्लकर पुलिसका सफल विक, उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल, उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा पुलिसका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
