कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ ।
टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ३ बलमा १ सय ३ रन बनाएर नट आउट छन् । ह्यारि ब्रुक ८ रन बनाएर क्रिजमा छन् । ओपनर बेन डुकेटले ७९ बलमा ८६, जो रुटले १३ र ड्यान लरेन्सले ५ रन जोडे ।
श्रीलंकाका लागि लाहिरु कुमाराले २ तथा मिलन रत्नायकेले १ विकेट लिए । घरेलु टोलीले १ खेल अगावै सिरिज जितिसकेको छ । पाहुना टोलीले पहिलो टेस्ट ५ विकेट तथा दोस्रो टेस्ट १ सय ९० रनले गुमाएको थियो ।
