साफ यू २० च्याम्पियनसिपको उपाधि पहिलो पटक बंगलादेशले जित्न सफल भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको छैठौं संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ४-१ गोलले पराजित गर्दै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको हो ।
बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ गोल तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरेका हुन् ।
मिराजुलले पहिलो हाफको इन्जुरी समयमा पाएको फ्रिकिकमा पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको प्रहार टप कर्नरमा लाग्दै गोलमा परिणत भएको थियो । ५६ औं मिनेटमा मिराजुलले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए भने ७१ औं मिनेटमा मिराजुलको पासका मोहमदले गोल गर्दा बंगलादेश ३-० ले अघि बढ्दै जितको नजिक पुगेको थियो।

८० औं मिनेटमा नेपालका लागि समिरले एक गोल फर्कापछि खेल ३-१ को अवस्थामा पुगेको थियो । फाइनलमा आफ्नो लय गुमाउन पुग्दा पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोश्रो हाफमा ३ गोल खादा मात्र एक गोल फर्काएको थियो तर दोश्रो हाफको इन्जुरी समयमा पियासले गोल गर्दै बंगलादेशलाई सहज जित दिलाए
नेपालले यसअघि पहिलो पटक सन् २०१५ मा घरेलु मैदानमै भएको र सन् २०१७ मा भुटानमा भएको दोश्रो संस्करणको उपाधि जितेको थियो। च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिडेको यो दोश्रो पटक हो ।
समूह चरणको भेटमा नेपाल २-१ गोल अन्तरले विजयी भएको थियो । पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो। त्यसअघि नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले र बंगलादेशलाई २-१ ले हराएको थियो ।