सामाजिक संजालमा सक्रिय युवाहरुको समुह दारी ग्याङले यसै साता फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
बुढानिलकण्ठ-९ कपनमा रहेको कान्तिपुर ट्रेनिगं सेन्टरमा भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना हुने मंगलवार आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । २४ देखि ३२ टोलीको सहभागिता रहने प्रतियोगितामा नेपाली नागरिक जो कोहीले टोली दर्ता गर्न सक्नेछन् । टोली दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीले गोल्डेन बल, उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र उच्च गोलकर्ताले गोल्डेन बुटसहित समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन। ‘परोपकारका लागि फुटसल’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताबाट बचत भएको रकम मार्फत सामाजिक कार्यक्रममा खर्च गरिने आयोजक समितिका सदस्य महेश्वर घिमिरेले बताएका छन्। ।
