गोलरक्षक डिओगो कोस्टाले ३ पेनाल्टी बचाउँदा पोर्चुगल युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो । निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए ।
टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे । लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे । कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे ।पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । फ्रान्सले आजै सम्पन्न खेलमा बेल्जियमलाई १-० ले हराएको थियो । राउन्ड अफ १६ मा मंगलबार रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ ।
