काठमाडौं म्याराथनको १८औँ संस्करण असोज २४ गते

काठमाडौं, असोज १५ गते ।
सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको १८औँ संस्करण यही असोज २४ गते अर्थात् अक्टोबर १० मा आयोजना हुने भएको छ। ‘रन टु रिब्युल्ड नेपाल’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितामा हालसम्म ७ हजारभन्दा बढी धावकले नाम दर्ता गरिसकेको आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेशनले जनाएको छ।

प्रतियोगितामा नेपालसहित १९ देशका १ सयभन्दा बढी विदेशी धावकको सहभागिता रहनेछ। म्याराथनलाई केवल दौड प्रतियोगिताका रूपमा नभई स्वस्थ जीवनशैली, अनुशासन, सामाजिक एकता, सडक सुरक्षा तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने अभियानका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा एनआरएस स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष तथा संस्थापक निलेन्द्रराज श्रेष्ठले काठमाडौं म्याराथनलाई खेलकुदसँगै सामाजिक चेतना र स्वस्थ समाज निर्माणसँग जोडेर अघि बढाइएको जानकारी दिए। उनका अनुसार यस वर्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा ‘ट्राफिक नियम पालना गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशलाई विशेष रूपमा प्रवर्द्धन गरिनेछ। सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि ‘दुर्घटनाबाट जोगिऔँ’ भन्ने सन्देशसमेत म्याराथनमार्फत प्रवाह गरिने श्रेष्ठले बताए।

यस वर्षको ४२.१९५ किलोमिटर पूर्ण म्याराथनमा करिब ५ सय धावक सहभागी हुनेछन्। त्यसमध्ये २७ जना महिला धाविका रहेका छन्। आयोजकले महिला सहभागितालाई नेपालको म्याराथन इतिहासमा उल्लेखनीय उपलब्धिका रूपमा लिएको छ।

प्रतियोगितामा नेपालसहित अमेरिका, अस्ट्रेलिया, बंगलादेश, चीन, डेनमार्क, फ्रान्स, भारत, जापान, म्यानमार, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, स्लोभाकिया, श्रीलंका, स्विट्जरल्यान्ड, ताइवान, बेलायत र कोरियाका धावक सहभागी हुनेछन्।

पूर्ण म्याराथनको ४२.१९५ किलोमिटर दूरीमा धावकका लागि १८ वटा पानी तथा जलपूर्ति केन्द्र स्थापना गरिनेछ। विभिन्न दौड क्लब तथा संघसंस्थाले ती केन्द्र सञ्चालन गर्नेछन्। धावकको स्वास्थ्य, ऊर्जा र सहजतालाई ध्यानमा राख्दै जलपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

धावकका लागि असोज २२ र २३ गते अर्थात् अक्टोबर ८ र ९ मा परिचयपत्र नम्बर तथा दौड पोसाक वितरण गरिनेछ। सोही क्रममा दौडका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइनेछ।

म्याराथनमा सहभागी सम्पूर्ण धावक, कार्यक्रमसँग प्रत्यक्ष जोडिएका व्यक्ति तथा स्वयंसेवकको बीमा गरिएको आयोजकले जनाएको छ। यस वर्ष हिमालयन एभरेस्ट इन्स्योरेन्स बीमा साझेदारका रूपमा जोडिएको छ। धावकको स्वास्थ्य सुरक्षाका लागि चिकित्सक सन्देश मास्केको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन गरिएको छ भने ब्लु क्रस अस्पताल, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल तथा नेपाल प्रहरीसँग समन्वय गरिएको छ।

म्याराथन सफल बनाउन काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकासहित सम्बन्धित वडा कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरिएको आयोजकले जनाएको छ।

सिद्धार्थ बैंक मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघ सहयोगीका रूपमा रहेका छन्। क्याथे प्यासिफिक सह–प्रायोजक, हिमालयन एभरेस्ट इन्स्योरेन्स बीमा साझेदार, नेपाल टेलिकम सञ्जाल साझेदार तथा स्पेस फोरके प्रत्यक्ष प्रसारण साझेदारका रूपमा जोडिएका छन्। त्यस्तै एक्सटेप जुत्ता साझेदार, सुजल डेरी र इनड्राइभ प्रायोजक तथा पूर्णा वाटर जलपूर्ति साझेदार रहेका छन्।

प्रतियोगिताका विभिन्न विधामा गरी कुल ९ लाख ७२ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिनेछ भने उत्कृष्ट पोसाकका लागि थप १० हजार रुपैयाँ पुरस्कार राखिएको छ। यससँगै कुल पुरस्कार राशि ९ लाख ८२ हजार रुपैयाँ पुग्नेछ।

म्याराथन खुलातर्फ पुरुष र महिलामा प्रथम हुनेले जनही १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हाफ म्याराथन खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पाउनेछन्।

त्यस्तै १० किलोमिटर खुला दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ तथा ५ किलोमिटर खुला र कलेज दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। ३ किलोमिटर विद्यालय दौडमा पनि छात्र र छात्रातर्फ समान पुरस्कारको व्यवस्था गरिएको छ।

म्याराथनमा सहभागी सबै धावकलाई अन्तिम बिन्दुमा पुगेपछि पदक, दौड पोसाक, परिचयपत्र नम्बर तथा विद्युतीय प्रमाणपत्र प्रदान गरिनेछ।

म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटबाट सुरु भई काठमाडौं, भक्तपुर, ललितपुर र मध्यपुर थिमीका विभिन्न क्षेत्र हुँदै सम्पन्न हुनेछ। आयोजकले दौडमा सहभागी हुन नसक्ने खेलप्रेमी, नागरिक तथा शुभेच्छुकलाई समेत धावकको उत्साह बढाउन उपस्थित भएर काठमाडौं म्याराथनको उत्सवमा सहभागी हुन आग्रह गरेको छ।

आयोजकले यस वर्षको म्याराथनमार्फत ‘स्वास्थ्यका लागि दौडौँ, सडक सुरक्षाका लागि दौडौँ, समृद्ध र स्वस्थ समाजका लागि दौडौँ’ भन्ने सन्देश प्रवाह गर्ने जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ