सुर्खेत, मंसिर ११ गते ।
दसौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च ¥यालीमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य पवन शाही, राखेपका सदस्य शक्तिप्रसाद गौचन, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाललगायतले टोलीलाई सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट बिदाइ गरे ।
¥याली टोलीमा नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, हरिबहादुर रोकाया र देबु थापा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् । ¥याली दैलेखको श्रीस्थानबाट औपचारिक सुरुआत हुनेछ । त्यसपछि टोली कालीकोट हुँदै जुम्ला पुग्ने छ । जुम्लामा नेपाली चर्चित अल्ट्रा धाविक सुनमाया बुढा पनि टोलीसंगै सामेल हुने छिन् । कालीकोट र जुम्लामा पनि ट्रफी र टर्चलाई नगर परिक्रमा गराइने कार्यक्रम छ ।
जुम्लाबाट मंसिर १५ गते सुर्खेत आइपुग्ने टोलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्वागत गर्ने कार्यक्रम रहेको अध्यक्ष विष्टले जनाएका छन् ।

महिला बास्केटबल ः
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा एपीएफ, सुदूरपश्चिम, नेपाल पुलिस र नेपाल आर्मी शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा एपीएफले गण्डकीलाई ७९–१२ अंकले पराजित ग¥यो । एपीएफको जितमा रिन्चेन मोक्तानले १४ अंक योगदान गरिन् । अनिशा आले मगरको १० अंक सहयोगमा सुदूरपश्चिमले लुम्बिनीलाई ३९–१६ ले हरायो ।
पुलिसले कोशीमाथि ५५–४० को जित दर्ता ग¥यो । पुलिसकी दिभा महर्जनले १६ स्कोर गरिन् । आर्मीले बागमतीको चुनौती ६७–२० ले सहजै पन्छायो । आर्मीकी समिक्षा बुढाथोकीले ११ अंक बटुलिन् । सेमिफाइनलमा आर्मीको भेट पुलिससंग हुनेछ भने सुदूरपश्चिमले एपीएफको सामना गर्ने छ ।
थ्री अन थ्रीमा पनि सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल आर्मी र बागमती तथा एपीएफ र कर्णालीबीच हुनेछ ।
क्वाटरफाइनलमा आर्मीले गण्डकीलाई १९–६, बागमतीले लुम्बिनीलाई १४–१०, एपीएफले सुदूरपश्चिमलाई १३–७ र कर्णालीले पुलिसलाई १७–८ ले पराजित गरे । आर्मीकी दिब्यान्सी कार्कीले १३, बागमतीकी सचरिन श्रेष्ठले ६, एपीएफकी सन्ना श्रेष्ठले ५ र कर्णालीकी एन्जल गुप्ताले ७ स्कोर गरे । दुवै विधाको सेमिफाइनल शनिबार हुनेछ ।
टेनिस ः शिभाली र स्वस्तिका फाइनलमा
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको महिला सिंगल्समा आर्मीकाद्वय शिभाली गुरुङ र स्वस्तिका विष्ट शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
बर्दियाको गुलेरियामा जारी प्रतियोगितामा शिभालीले बागमतीकी प्राज्ना मानन्धरलाई ६–२ र ६–० तथा स्वस्तिकाले बागमतीकी प्रकृति श्रेष्ठलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।
मिक्स डबल्समा आर्मीका शिभाली र राजवीर प्रधानको जोडीले बागमतीका प्रकृति र निसान श्रेष्ठको जोडीलाई ७–६ र ६–२ तथा आर्मीका प्रणव खनाल र स्वस्तिको जोडीले गण्डकीका शक्ति शर्मा र आहाना शेरचनको जोडीलाई ६–० र ६–० ले पाखा लगाउदै फाइनलमा पुगे ।
पुरुष डबल्समा आर्मीका प्रणव र राजवीर, गण्डकीका प्रदीप खड्का र करणबहादुर थापा, बागमतीका निसान र प्रितम परियार तथा नेपाल पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।