दक्षिण कोरियामा आयोजना हुने ११औँ विश्व पारा तेक्वान्दो प्रतियोगिता (जी १४) मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ।

नेपाल तेक्वान्दो संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्सेर राणाले खेलाडीसहितको टोलीलाई शुभकामना दिँदै बिदाइ गर्नुभयो।
संघका महासचिव एवं टिम व्यवस्थापक हेमन्त डाँगीका अनुसार विश्व तेक्वान्दो महासंघ (वर्ल्ड तेक्वान्दो) को कार्यक्रमअनुसार उक्त प्रतियोगिता दक्षिण कोरियाको मुजुमा आगामी नोभेम्बर २० देखि २२ तारिखसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका तर्फबाट दिपेश महतले नोभेम्बर २० मा पुरुष ५८ केजी मुनि (के ४१) र अमिर भ्लोनले नोभेम्बर २१ मा ६३ केजी मुनि (के ४४) तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। विश्व तेक्वान्दोद्वारा जी १४ वरीयताको मान्यता प्राप्त यस प्रतियोगिताका खेलहरू विश्व तेक्वान्दोको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

बिदाइ समारोहमा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ र काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले टोलीलाई उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना व्यक्त गर्नुभयो।
प्रशिक्षक कविराज नेगी लामाले यस विश्व प्रतियोगिताले सन् २०२८ मा संयुक्त राज्य अमेरिकामा हुने पाराओलम्पिक गेम्सको तयारी र अनुभव बटुल्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा संघका केन्द्रीय तथा काठमाडौँ जिल्लाका पदाधिकारी र तेक्वान्दो प्रशिक्षकहरूको उपस्थिति रहेको थियो।