दिनेश प्रजापति ७- अन्डर ६५ को स्कोरमा शीर्षस्थानमा

सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७- अन्डर ६५ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। 

गोकर्ण गल्फ क्लबमा मंगलबार तोरण र सुमनले ६- अन्डर ६६ को स्कोरमा संयुक्तरूपमा दोस्रो स्थान प्राप्त गरे भने दिनेश प्रजापतिले तोरणविक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन्।

डिफेन्डिङ च्याम्पियन सुवास तामाङ, भुवन नगरकोटी र एमेच्योर सद्धभाव आचार्य ४- अन्डर ६८ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे भने ३- अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २- अन्डर ७० सहित आठौं स्थानमा रहेका छन्। १- अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, निरज तामाङ, धनबहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्तरूपमा नवौं स्थान प्राप्त गर्न सफल बने।

१५ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश: एक लाख ७५ हजार र एक लाख २२ हजार प्राप्त गर्नेछन्। यस्तै, चौथो र पाँचौ हुनेलाई एक लाख दुई हजार र ८० हजार प्रदान गरिनेछ। दुई दिनको खेलपश्चात् कट लागु हुनेछ। ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन्। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ।  सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ