
काठमाडौं,भदौ २६ गते ।
बाल दीक्षा सदन स्कुलको आयोजनामा पाँचौं संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन छात्रतर्फ तीन तथा छात्रातर्फ एक खेल सम्पन्न भए।
छात्रतर्फको पहिलो खेलमा केएमसी स्कुललाई जेनियम नेशनल एकेडेमीले १५–६ को स्कोरले पराजित ग¥यो। दोस्रो खेलमा नवज्योति माध्यमिक विद्यालयले मनास्लु वल्र्ड स्कुललाई १९–१७ ले हरायो । त्यस्तै, अर्को खेलमा राराहिल मेमोरियल स्कुलले ओएसिस इङ्लिस स्कुललाई १२–७ ले पराजित ग¥यो।
छात्रातर्फ भएको एकमात्र खेलमा आयोजक बीडीएसले आर्या स्कुललाई ५–४ को स्कोरले हराउँदै विजयी सुरुआत गरेको छ।
लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ २१ तथा छात्रातर्फ १३ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन्।
बास्केटबल खेललाई ग्रासरुट तहदेखि नै विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाका अनुसार प्रत्येक टोलीका एक खेलाडीले बढीमा दुई क्वाटर मात्र खेल्न पाउने व्यवस्था गरिएको छ। यस व्यवस्थाले टोलीका सबै खेलाडीलाई मैदानमा खेल्ने अवसर प्रदान गर्ने आयोजकको उद्देश्य रहेको उनले बताए ।