
काठमाडौं,भदौ २६ गते ।
म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सरस्वतीनगरस्थित गोल्डेनपिक हाइ स्कुलमा सुरु भएको छ ।
पहिलो दिन जुनियर ब्वाइजको समूह चरणका खेल सम्पन्न भएको छ । गोल्डेनपिक, सम्भावी, ज्ञान निकेतन, विच किड्स, लाइसियम मोडेल, नेपाल मेगा र एडभान्सले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
प्रतियोगिताको माफका अध्यक्ष रविन दाहाल, गोल्डेन पिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्री, माफका सल्लाहकार तथा बेबिलोन स्कुलका प्रिन्सिपल राजु राई र गोल्डेन पिक स्कुलका प्रधानाध्यापक छत्रमणि राईले संयुक्त रूपमा उद्घाटन गरे ।
गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगितामा ३ विधामा माफमा आबद्ध १६ विद्यालयका ४४ टिमको सहभागिता रहने छ ।
सो अवसरमा माफका अध्यक्ष दाहाल र गोल्डेन पिक स्कुल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्रीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा टोलीलाई शुभकामना दिए ।
उनीहरूले विद्यालय तहमा बास्केटबल खेलको विकास र प्रवद्र्धनसँगै स्वस्थ प्रतिस्पर्धा तथा खेलभावनाको विकासमा यस्ता प्रतियोगिताको महत्व रहेको बताए ।
प्रतियोगिताले विद्यालय तहका खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै उनीहरूको बास्केटबल सीप, अनुशासन, समूहकार्य र खेलभावनाको विकासमा योगदान पु¥याउने आयोजकले जनाएको छ ।