
काठमाडौं भदौ १९ गते ।
करातेकी एरिका गुरुङले लगातार तेस्रो पटक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार काठमाडौंको भृकुटीमण्डपस्थित एनपीसीको ब्लु पभेलियन हलमा आयोजना गरेको २३औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा एरिका महिला वर्ष खेलाडी घोषित भएकी हुन् ।

यस्तै, बक्सिङका चन्द्रबहादुर थापामगर वर्ष पुरुष खेलाडी बने । आइबा विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेका चन्द्रले वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । चन्द्रसँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथलेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सदभाव आचार्य मनोनयनमा थिए ।

एसियाडको तयारीका लागि हाल भारतमा रहेका चन्द्रको अवार्ड उनका दाजु तथा १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता बक्सर भूपेन्द्र थापाले ग्रहण गरेका थिए ।
एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलतालाई आधार बनाउँदै लगातार तेस्रो पटक महिला वर्ष खेलाडीको अवार्ड जितेकी हुन् । उनले डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत, कराते वान सिरिजमा स्वर्ण तथा थाइल्यान्ड ओपनमा व्यक्तिगत र टिम फाइटतर्फ स्वर्ण पदक जितेकी छन् । एरिकाले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा आधा दर्जनभन्दा बढी पदक जितेकी छन् ।
महिला वर्ष खेलाडीको मनोनयनमा एरिकासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेका सानुमाया थिङ र सविना श्रेष्ठ तथा फुटबलकी सावित्रा भण्डारी ‘साम्बा’ रहेका थिए ।

यसपटक करातेले युवा, प्रशिक्षक र स्पेसल अवार्डमा पनि वर्चस्व कायम गरेको छ । युवा खेलाडीतर्फ करातेकी मनीषाकुमारी बोहरा र प्रशिक्षकतर्फ कुशल श्रेष्ठले अवार्ड जिते ।

करातेका खेलाडीलाई निरन्तर सफलतातर्फ डोर्याउँदै आएका प्रशिक्षक कुशलले दोस्रो पटक प्रशिक्षक अवार्ड हात पारेका हुन् । यसअघि एरिकाले १९औँ एसियाली खेलकुदमा रजत पदक जित्दा पनि कुशल नै उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
प्रशिक्षकतर्फ कुशलले बक्सिङका दीपक महर्जन, करातेका मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र दृष्टिविहीन महिला क्रिकेट टोलीका प्रशिक्षक पुरनसिंह खत्रीलाई पछि पारे ।
स्पेसल अवार्ड पनि करातेकै ध्रुवविक्रम मल्लले प्राप्त गरे । उनले २०४८ सालदेखि बालाजु कराते डो एकेडेमीमार्फत थुप्रै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेका छन् । एसियाली खेलकुदमा कांस्य पदक जित्ने विमला तामाङदेखि दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने दर्जनौँ खेलाडी उनकै डोजोबाट उत्पादन भएका छन् । पछिल्लो समय मल्ल अल्ट्रा रेसमा समेत सक्रिय छन् ।

सर्वाधिक मत प्राप्त गर्दै भलिबलकी मीना सुनारले पिपल्स च्वाइस अवार्ड जितिन् । भलिबल खेलाडीको वर्चस्व रहेको यस विधामा मीनाले पनि त्यसलाई निरन्तरता दिइन् । गत वर्ष यो अवार्ड भलिबलकै हिमाल सुनारीले जितेका थिए ।

डिजिटल वालेट खल्ती बाई आईएमईबाट प्राप्त मत, खेलकुद पत्रकार मञ्चका सदस्य, विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त मतका आधारमा मीना विजेता बनेकी हुन् । उनले २९ दशमलव ४ प्रतिशत मत प्राप्त गरिन् ।

पिपल्स च्वाइसको मनोनयनमा एमएमए फाइटर रवीन्द्र ढाँट, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल रहेका थिए । रवीन्द्रले २४ दशमलव ५३ प्रतिशत मत प्राप्त गर्दै दोस्रो तथा सानुमायाले १८ दशमलव ४८ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरिन् ।
पिपल्स च्वाइससहित वर्ष पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी र प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कारसमेत प्राप्त गरेका छन् ।
युवा खेलाडीतर्फ मनीषाकुमारी बोहराले करातेकै रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तवलाई पछि पार्दै अवार्ड जितिन् । मनीषाले गत वर्ष एसियन २३औँ क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपमा कांस्य तथा श्रीलंकामा भएको नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन् ।
नेपाललाई पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेकी सुष्मा तामाङले पारा एथलिट सम्मान प्राप्त गरिन् । पूर्ण रूपमा दृष्टिविहीन बी–वान क्याटेगोरीकी क्रिकेटर सुष्माले नेपाली टोलीको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

यस्तै, ब्याडमिन्टनका भेट्रान खेलाडी कुमार मोहनबहादुर शाही ‘एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भए । ८३ वर्षीय शाही एसियाली खेलकुदमा सहभागी हुने ब्याडमिन्टनका पहिलो पुस्ताका नेपाली खेलाडी हुन् । आफ्नो समयमा उनी ब्याडमिन्टनसँगै फुटबल, टेबलटेनिस र टेनिसमा समेत उत्कृष्ट खेलाडीका रूपमा परिचित थिए ।

एनएसजेएफले हरेक वर्ष एसियाका एक खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । यस वर्ष भारतका खेल पत्रकार सवा नायकनलाई ‘एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ प्रदान गरियो । एआईपीएसका सदस्य तथा उपाध्यक्षसमेत रहेका नायकनले ‘द हिन्दु’, ‘इन्डियन एक्सप्रेस’ र ‘टेलिग्राफ’मा काम गरिसकेका छन् ।

कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष आशुतोष अग्रवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ तथा क्रिकेटका पूर्वकप्तान पारस खड्कालगायतले विभिन्न नौ विधाका विजेता तथा सम्मानित व्यक्तित्वलाई अवार्ड प्रदान गरेका थिए ।
