
काठमाडौं भदौ १९ गते ।
ज्ञानोदय बालवाटिकाको आयोजनामा जारी ३२औँ स.बल ज्ञान कार्निभलअन्तर्गत शुक्रबार बास्केटबल र फुटबलका विभिन्न खेलमा सहभागी विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
गर्ल्स बास्केटबलतर्फ मल्पी स्कुलले डीएभी स्कुललाई १८–१६ अंकले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। मल्पीकी खुशी प्रिया कसुलाले सर्वाधिक ८ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिइन्।
ब्वाइज बास्केटबलतर्फ आयोजक ज्ञानोदय बालवाटिकाले एलिक्सर स्कुललाई ४२–१२ पराजित गरेकोछ। ज्ञानोदयले ४२ अंक जोड्दा उसका रणभिर बास्ताकोटीले व्यक्तिगत १२ अंक गर्दै टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे।

ब्वाइज फुटबलतर्फ पनि आयोजक ज्ञानोदय बालवाटिकाले प्रभावशाली जित दर्ता गरेको छ। ज्ञानोदयले जेम्स स्कुललाई ५–० गोलले पराजित गर्यो। विजयी टोलीका लागि आवम प्रधानले एक तथा प्रकाश थापा र सोनाम भट्टचनले समान दुई–दुई गोल गरे।
यस्तै, ब्वाइज फुटबलकै अर्को खेलमा रातो बंगला स्कुलले एक्सेलसियर स्कुललाई ७–१ को फराकिलो अन्तरले पराजित गर्यो। रातो बंगला लागि सिद्धार्थ भट्टले ह्याट्रिकसहित तीन गोल गरे। कृशान्त श्रेष्ठ अमात्यले दुई तथा भेदान्त भट्ट र आरन श्रेष्ठले समान एक–एक गोल थपे।

गर्ल्स फुटबलतर्फ रातो बंगला स्कुलले लिटिल एन्जल्स स्कुलमाथि ६–० को शानदार जित हात पार्यो। ईभाना सुबेदीले ह्याट्रिक गर्दै तीन गोल गरिन्। सृयुक्त्ता साह, आभा गुरुङ र सान्भी शर्माले समान एक–एक गोल गर्दै टोलीको जितमा योगदान दिए।
ब्वाइज फुटबलकै अर्को प्रतिस्पर्धामा पाठशाला स्कुलले राई स्कुललाई १–० ले पराजित गर्यो। खेलको एकमात्र निर्णायक गोल आदिल गुरुङले गरे।
ज्ञानोदय बालवाटिका सन् १९७५ मा स्थापना भएको विद्यालय हो। विद्यालयले सन् १९९४ देखि निरन्तर रूपमा ज्ञान कार्निभल आयोजना गर्दै आएको छ। लामो समयदेखि आयोजना हुँदै आएको यो प्रतियोगिता विद्यालयस्तरका पुराना तथा लोकप्रिय खेलकुद प्रतियोगितामध्ये एकका रूपमा परिचित छ।
यस संस्करणमा पनि बास्केटबल र फुटबलतर्फ विभिन्न विद्यालयका टोलीले सहभागिता जनाइरहेका छन्। प्रतियोगिताका विजेता टोली तथा खेलाडीले ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।