
काठमाडौं भदौ १७ गते ।
नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणअन्तर्गत पहिलो अभ्यास खेलमा तास्मानियासँग दुई विकेटको हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा नेपालले दिएको १ सय ४३ रनको लक्ष्य तास्मानियाले खेल सकिन चार बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो । लक्ष्य पछ्याउने क्रममा तास्मानियाले सुरुवातमा विकेट गुमाए पनि थोमस ड्वायरको संयमित ब्याटिङमा नेपालले प्रस्तुत गरेको सामान्य लक्ष्य पूरा गरेको हो ।
तास्मानियाका थोमस ड्वायरले सर्वाधिक ६० रन बनाए । उनले ७८ बलको सामना गर्दै ६ चौका प्रहार गरे । यस्तै, राफेल म्याकमिलनले ३२, जस्टिन ग्यालियोटीले २४ तथा विल प्रेस्टविजले २३ रनको योगदान गरे । कप्तान म्याथ्यु कुह्नेम्यान २३ रनमा अविजित रहे भने टिम वार्डले १२ रन बनाए ।
नेपालका बलरले तास्मानियामाथि दबाब सिर्जना गर्ने प्रयास गरे पनि त्यसलाई जितमा परिणत गर्न सकेनन् । नेपालका साहब आलाम र दीपकप्रसाद डुम्रेले दुई–दुई विकेट लिए । रिजन ढकाल, आकाश चन्द र पवन सराफले समान एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । नेपालका लागि तृतराज दासले सर्वाधिक ३७ रन बनाए । मयन यादवले ३२ तथा कुशल मल्लले २९ रनको योगदान गरे ।
त्यसैगरी पवन सराफले अविजित २२, दीपकप्रसाद डुम्रेले १८ र कुशल भुर्तेलले १२ रन बनाए । लोकेश बम र कप्तान अनिलकुमार साहले समान ११–११ रन जोडे ।
नेपालले सुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि तृतराज दास र मयन यादवबीच ५५ रनको साझेदारी भएको थियो । तर, त्यसपछि नेपाली ब्याटरहरूले लामो साझेदारी गर्न नसक्दा टोली ठूलो योगफलतर्फ अघि बढ्न सकेन । मध्यक्रममा विकेट पतन हुँदा नेपाल ४३ ओभर ३ बलमै १ सय ४२ रनमा समेटियो ।
नेपालको पारी ध्वस्त पार्ने क्रममा तास्मानियाका बिली स्ट्यानलेकले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । विल प्रेस्टविज र राफेल म्याकमिलनले दुई–दुई विकेट हात पारे । लाचलान क्लार्कले एक विकेट लिए ।
पहिलो अभ्यास खेलमा पराजित भए पनि नेपाल ‘ए’ले अस्ट्रेलिया भ्रमणमा थप अभ्यास खेलमार्फत आफ्नो तयारीलाई निरन्तरता दिनेछ । टोलीले ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्दै आगामी खेलमा बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
नेपाल ‘ए’ले अब शुक्रबार दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियाको सामना गर्नेछ । तास्मानियाविरुद्धको खेलबाट सिकाइ लिँदै नेपालले दोस्रो अभ्यास खेलमा आफ्नो प्रदर्शन सुधार गर्ने अवसर पाउनेछ ।