
काठमाडौं भदौ १७ गते ।
नेपाल भलिबल लिग अर्थात् एनभीएलको फ्रेन्चाइज टोली काठमाडौं रेड्सले सर्बियाका अनुभवी अपोजिट हिटर स्टेफन ओकोसानोभिकलाई अनुबन्ध गरेको छ । ओकोसानोभिकसँगै काठमाडौं रेड्सले आगामी एनभीएलका लागि आफ्नो विदेशी खेलाडीको कोटा पूरा गरेको हो ।
काठमाडौं रेड्समा आबद्ध हुने ओकोसानोभिक तेस्रो विदेशी खेलाडी हुन् । उनी नेपाल आइसकेका छन् । टोलीले यसअघि पाकिस्तानका सेटर अदनान खान र आउटसाइड हिटर अहमद मुस्ताफा खानलाई अनुबन्ध गरिसकेको थियो ।
सर्बियाको उमेर समूहको टोलीबाट समेत प्रतिनिधित्व गरिसकेका ओकोसानोभिकले युरोप तथा एसियाका विभिन्न देशका क्लबबाट व्यावसायिक भलिबल खेलिसकेका छन् । उनले सर्बियासँगै चेक रिपब्लिक, फ्रान्स, इजरायल, साउदी अरेबिया, ग्रिस र टर्कीका क्लबबाट समेत प्रतिस्पर्धा गरेका छन् ।
अपोजिट हिटरका रूपमा खेल्ने ओकोसानोभिकको आगमनले काठमाडौं रेड्सको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ । विदेशी खेलाडीको अनुभव र घरेलु खेलाडीको संयोजनमा प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य काठमाडौंले राखेको छ ।
काठमाडौं रेड्सको मुख्य प्रशिक्षकमा नृपबहादुर विक तथा सहायक प्रशिक्षकमा मोतिराम नेपाली रहेका छन् । टोलीको मार्की खेलाडीका रूपमा सुनिल बोहरा रहेका छन् ।
काठमाडौंले एनभीएलको अक्सनमार्फत सन्तोष राई, चिरञ्जीवी खड्का, सन्तोष विक, बलदेवसिंह धामी, जितबहादुर ढुंगेल, पुस्करसिंह धामी र दिपेश कुँवरलाई अनुबन्ध गरेको थियो । त्यसैगरी, टोलीले ट्यालेन्ट हन्टमार्फत दिलिप विकलाई समेत आफ्नो टोलीमा समेटेको छ ।
पहिलो संस्करणको नेपाल भलिबल लिग यही भदौ १९ गते शुक्रबारदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् अर्थात् राखेपको कभर्डहलमा सुरु हुँदैछ । फ्रेन्चाइज अवधारणामा आयोजना हुन लागेको प्रतियोगितालाई नेपाली भलिबलको व्यावसायिक विकासका लागि महत्वपूर्ण रूपमा हेरिएको छ ।
काठमाडौं रेड्सले भने प्रतियोगिताको पहिलो खेलमै मधेस वारियर्सको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शनिबार हुनेछ । विदेशी खेलाडीको अनुभव, राष्ट्रिय तथा घरेलु स्तरमा खेलिसकेका खेलाडी र नयाँ प्रतिभाको मिश्रणसहित काठमाडौं प्रतियोगितामा बलियो सुरुआत गर्ने योजनामा रहेको छ ।
एनभीएलको पहिलो संस्करणमै उपाधिका लागि प्रतिस्पर्धा गर्ने लक्ष्यसहित काठमाडौं रेड्सले टोली निर्माणलाई अन्तिम रूप दिएको हो । विदेशी खेलाडीको कोटा पूरा भएसँगै अब काठमाडौंको ध्यान प्रतियोगिताअघि टोलीको तयारी, खेलाडीबीचको तालमेल र पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्नेतर्फ केन्द्रित हुनेछ ।