
काठमाडौं,भदौ १० गते।
स्वोस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा सञ्चालित आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०२६ मंगलबार सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २५ विद्यालयका टोलीले चार उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए।

विद्यालयस्तरबाट फुटसल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा विद्यार्थीमा खेलप्रतिको रुचि बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यू–११ छात्र, यू–११ छात्रा, यू–१२ छात्र र यू–१४ छात्रतर्फ विभिन्न विद्यालयका टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका खेलहरूमा विद्यार्थी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य ललिता नाथ प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। समारोहमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अञ्जना राना मगर, नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) का संस्थापक अध्यक्ष प्रदीप जोशी, उपाध्यक्ष मोहन कार्की तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शिव कोइराला ‘ज्वाला’लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको यू–११ छात्रतर्फ रातो बंगला स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो। हिमशिखर स्कुल उपविजेता बन्दा रोजबड स्कुल तेस्रो स्थानमा रह्यो। यसै समूहमा स्वोस्तिश्रीका आर्नव राज भारती उत्कृष्ट खेलाडी घोषित भए। रातो बंगला स्कुलका सुबान्श श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा सोही विद्यालयका निर्विग्न ढकाल सर्वाधिक गोलकर्ता बने।

यू–११ छात्रातर्फ जेम्स स्कुलले उपाधि हात पार्यो। रातो बंगला स्कुल दोस्रो तथा आयोजक स्वोस्तिश्री गुरुकुल तेस्रो स्थानमा रह्यो। व्यक्तिगत विधातर्फ पाठशाला नेपालकी सम्राज्ञी क्षेत्री उत्कृष्ट खेलाडी घोषित भइन्। स्वोस्तिश्रीकी श्रीम खरेल उत्कृष्ट गोलरक्षक तथा रातो बंगलाकी शिखा सुबेदी सर्वाधिक गोलकर्त्री बनिन्।
यू–१२ छात्रतर्फ राई स्कुल च्याम्पियन बन्यो। स्वोस्तिश्री गुरुकुल उपविजेता तथा कोहिनुर स्कुल तेस्रो भयो। यस समूहमा राई स्कुलका योनातन राई उत्कृष्ट खेलाडी घोषित भए। स्वोस्तिश्रीका समीर बोहरा उत्कृष्ट गोलरक्षक तथा कोहिनुरका प्रमिक मगर सर्वाधिक गोलकर्ता बने।
त्यस्तै, यू–१४ छात्रतर्फ लोयल्टी एकेडेमीले उपाधि जित्यो। उज्ज्वल तारा स्कुल उपविजेता तथा रोजबड स्कुल तेस्रो स्थानमा रह्यो। व्यक्तिगत पुरस्कारमा उज्ज्वल ताराका केशव काफ्ले उत्कृष्ट खेलाडी घोषित भए। लोयल्टीका समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक तथा रोजबडका लक्ष्य श्रेष्ठ सर्वाधिक गोलकर्ता बने।

चार दिनसम्म चलेको प्रतियोगिताले विद्यालयस्तरमा फुटसल खेलको बढ्दो लोकप्रियता र विद्यार्थी खेलाडीको प्रतिस्पर्धात्मक क्षमतालाई समेत प्रस्तुत गरेको आयोजकले जनाएको छ। विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धाले नयाँ पुस्ताका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो।

समापन समारोहमा विजेता, उपविजेता तथा तेस्रो स्थान हासिल गर्ने टोलीका खेलाडीलाई ट्रफी, पदक तथा पुरस्कार प्रदान गरिएको थियो। व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत सम्मान गरिएको थियो। प्रतियोगिताको सफल आयोजनाले विद्यालयस्तरमा फुटसलको विकाससँगै प्रतिभावान खेलाडी उत्पादनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


