वाकिलले जिते पीएसए स्याटेलाइट टुरको उपाधि, स्क्वास अक्षय कोषसंघलाई १ लाख र खेलाडी छनोटमा ५० हजार सहयोग

काठमाडौँ,भदौ १० गते।
श्रीलंकाका वाकिल एम शमिलले नेपालमा पहिलोपटक आयोजना भएको प्रोफेसनल स्क्वास एसोसिएसन (पीएसए) स्याटेलाइट टुर २०२६ को उपाधि जितेका छन् ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कभर्ड हलमा मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा वाकिलले बेलायतका आइओन शार्पलाई ५–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएका हुन् ।

फाइनलमा वाकिलले सुरुआत भने सुखद गर्न सकेनन् । उनले पहिलो सेट ६–११ ले गुमाएका थिए । दोस्रो सेटमा १२–१० को संघर्षपूर्ण जित निकाल्दै खेलमा फर्किएका वाकिल तेस्रो सेटमा पुनः ८–११ ले पराजित भए । त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै वाकिलले चौथो सेट ११–६ र पाँचौँ तथा निर्णायक सेट ११–४ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गरे ।

उपाधिसँगै वाकिलले ४०० अमेरिकी डलर पुरस्कार प्राप्त गरे । उपविजेता बनेका बेलायतका आइओन शार्पले २०० अमेरिकी डलरमा चित्त बुझाए ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाका नेभिन्दु लक्मनले मलेसियाका नितीश मणिमरणलाई ३–१ को सेटमा पराजित गरे । नेभिन्दुले पहिलो सेट ८–११ ले गुमाए पनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो सेट ११–५, तेस्रो सेट १६–१४ र चौथो सेट ११–६ ले जित्दै तेस्रो स्थान हासिल गरे । नितीश चौथो भए ।

प्रतियोगितामा नेपाली खेलाडी अराहान्त केशर सिंहले पाँचौँ स्थान हासिल गरे । आइतबार बिहान भएको पाँचौँ स्थानको र्‍याङ्किङ खेलमा उनका प्रतिस्पर्धी दीपक थापा चोटका कारण खेल पूरा गर्न नसकेपछि अराहान्तलाई विजेता घोषित गरिएको हो । दीपक छैटौँ भए ।

सातौँ स्थानका लागि भएको खेलमा मलेसियाका अविनाश अनबरासुले बंगलादेशका हसन अबिदलाई ३–० को सोझो सेटमा पराजित गरे । अविनाशले ११–६, ११–९ र ११–४ को सहज जित निकाल्दै सातौँ स्थान हात पारे । हसन आठौँ भए ।

नवौँ स्थानको खेलमा नेपालका उदीयमान खेलाडी पासाङ भ्लोनले इटलीका रेन्जो अन्डोर्नोलाई ३–० ले पराजित गरे । पासाङले ११–५, १२–१० र ११–६ को सेटमा जित निकाल्दै नवौँ स्थान हासिल गरे । रेन्जो दशौँ भए ।

त्यस्तै, ११औँ स्थानका लागि भएको रोमाञ्चक खेलमा भारतका अनमय रुंगटाले बंगलादेशका अब्दुल ए. सिक्दर सायेमलाई ३–२ ले पराजित गरे । पाँच सेटसम्म चलेको खेलमा अनमयले ८–११, ११–७, ७–११, ११–८ र ११–९ को जित निकाल्दै ११औँ स्थान हासिल गरे । अब्दुल १२औँ भए ।

१३औँ स्थानका लागि भएको खेलमा नेपालका सरोज तामाङले उत्कृष्ट पुनरागमन गर्दै बंगलादेशका बरुआ दोर्जेलाई ३–१ ले पराजित गरे । पहिलो सेट १५–१७ ले गुमाएका सरोजले त्यसपछि लगातार तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै ११–५, ११–८ र ११–५ को जित निकाले । बरुआ १४औँ भए ।

१५औँ स्थानका लागि भएको खेलमा नेपालका नैनाबहादुर मगरले राकेश परियारलाई ३–० को सोझो सेटमा पराजित गरे । नैनाबहादुरले सहज जित निकाल्दै १५औँ स्थानमा प्रतियोगिता समाप्त गर्दा राकेश १६औँ भए ।

नेपालमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, बेलायत र इटलीका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा कुल १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई उच्चस्तरको प्रतिस्पर्धाको अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको थियो । उपाधि विजेता वाकिल एम शमिलले ४००, उपविजेता आइओन शार्पले २०० तथा सेमिफाइनलमा पुगेका नितीश मणिमरण र नेभिन्दु लक्मनले जनही १०० अमेरिकी डलर प्राप्त गरे ।

त्यसैगरी क्वार्टरफाइनलमा पुगेका नेपालका अराहान्त केशर सिंह र दीपक थापा तथा मलेसियाका अविनाश अनबरासु र बंगलादेशका हसन अबिदले जनही ५० अमेरिकी डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । पुरस्कार तथा प्रतियोगितासम्बन्धी विवरण नेपाल स्क्वास र्याकेट्स संघका उपाध्यक्ष एवं प्रतियोगिता निर्देशक रुपक दास ताम्राकारले जानकारी दिए ।

प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहेताले नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न संघले देखाएको सक्रियताको प्रशंसा गरे । उनले नेपाली खेलाडीको क्षमता विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सरकारको तर्फबाट पनि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा फाउन्डेसनका अध्यक्ष पुर्व मन्त्री सुनिल थापाले १ लाख ५०हजारका चेक संघका अध्यक्ष ध्रुवबहादुर गुरुङलाई हस्तान्तरण गरे । उक्त रकम १ लाख नेपाल स्क्वास र्याकेट्स संघले स्थपना गरेको अक्षय कोष र ५० हजार आगामि १०औ रष्ट्रिय खेलकुद स्क्वास खेलाडी छनौट प्रतियोगितको लागि प्रदान गरिएको हो ।

नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङले प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए । उनले नेपालमा पीएसए स्तरको प्रतियोगिता आयोजना हुनु नेपाली स्क्वासका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नेपाली खेलाडीको क्षमता अभिवृद्धिसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्क्वासको क्षेत्रमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा पहिलोपटक आयोजना भएको पीएसए स्याटेलाइट टुरले नेपाली स्क्वासलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जोड्नुका साथै खेलाडी, प्रशिक्षक र आयोजकका लागि समेत नयाँ अनुभव प्रदान गरेको छ । अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई आफ्नो स्तर परीक्षण गर्ने अवसर मिलेको छ भने आगामी दिनमा नेपालमा अझै ठूला अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना गर्ने आधारसमेत तयार भएको आयोजकको विश्वास छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ