पीएसए सेटलाइट टुरको उपाधिका लागि श्रीलंकाका वाकिल र बेलायतका शार्पले खेल्ने

काठमाडौं भदौ ८ गते ।

सातदोबाटोस्थित स्क्वास कभर्ड हलमा चलिरहेको प्रोफेसनल स्क्वास एसोसिएसन (पीएसए) स्याटेलाइट टुर २०२६ अन्तर्गत श्रीलंकाका वाकिल एम शमिल र बेलायतका आइओन शार्प फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनलमा वाकिलले मलेसियाका नितीश मणिमरणलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
वाकिलले पहिलो दुई सेट ११–५ र ११–३ ले सहजै आफ्नो पक्षमा पारे । तेस्रो सेटमा नितीशले ११–७ को जित निकाल्दै खेलमा फर्कने प्रयास गरे पनि चौथो सेटमा वाकिलले ११–९ को जित निकाल्दै खेल आफ्नो पक्षमा पारे ।
अर्को सेमिफाइनलमा बेलायतका आइओन शार्पले श्रीलंकाका नेभिन्दु लक्मनलाई ३–१ ले पराजित गरे । शार्पले पहिलो सेट ११–५ ले जितेका थिए । दोस्रो सेटमा भने उनले १४–१२ को प्रतिस्पर्धात्मक जित निकाले । तेस्रो सेट नेभिन्दुले ११–७ ले आफ्नो पक्षमा पारे पनि चौथो सेट ११–९ ले जित्दै शार्प फाइनलमा पुगे ।
अब उपाधिका लागि वाकिल र शार्पबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका लागि भने नितीश र नेभिन्दु आमनेसामने हुनेछन् । ५औँदेखि १४औँ स्थानसम्मका खेल भोलि बिहानको सत्रमा र दिउँसो ४ बजेपछि तेश्रो स्थान र फाइनल खेल हुने प्रतियोगिताका निर्देशक रुपकदास ताम्राकारले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत आज भएको ९ देखि १२औँ स्थानको खेलमा नेपालका पासन भ्लोनले जित हात पारे । उनले बंगलादेशका अब्दुल सिक्दर सायेमलाई ३–१ ले पराजित गरे ।
पहिलो सेट ८–११ ले गुमाएका पासनले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट ११–६, ११–७ र ११–५ ले आफ्नो पक्षमा पारे ।
त्यसैगरी १५औँ र १६औँ स्थानको खेलमा नेपालकै नैना बहादुर मगरले राकेश परियारलाई ३–१ ले पराजित गरे । नैनाले पहिलो सेट ७–११ ले गुमाए पनि त्यसपछि लगातार तीन सेट ११–६, ११–२ र ११–८ ले जित्दै खेल आफ्नो पक्षमा पारे ।
यसअघि ९ देखि १२औँ स्थानका लागि भएको अर्को खेलमा इटालीका रेन्जो एन्डोर्नोले भारतका अनामय रुंगटालाई ३–० ले पराजित गरे। उनले ११–६, ११–७ र ११–६ को सहज जित निकाले ।
पीएसए स्याटेलाइट टुर उदाउँदा स्क्वास खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव र र्याङ्किङ अंक हासिल गर्ने महत्वपूर्ण प्रतियोगिता हो । नेपालमा आयोजना भइरहेको यस प्रतियोगितामा दक्षिण एसिया, युरोपलगायत विभिन्न क्षेत्रका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै नेपाललाई अन्तर्राष्ट्रिय स्क्वासको नक्सामा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपाल स्क्वास र्याकेट्स संघले पछिल्लो समय नेपालमा स्क्वास खेलको विकास र प्रवद्र्धनमा विभिन्न गतिविधि गर्दै आएको छ । सेट लाइट टुरले अन्तर्राष्ट्रिय खेलाडीलाई नेपाली भूमिमा प्रतिस्पर्धाको अवसर दिनुका साथै पासन भ्लोन, नैना बहादुर मगरलगायत नेपाली खेलाडीलाई पनि अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसर प्रदान गरेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ