
काठमाडौं,भदौ १० गते।
१४औँ दक्षिण एसियाली खेलकुद (साग) आगामी चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने भएको छ । पाकिस्तानले सन् २०२७ मा आयोजना गर्ने सागको मिति दक्षिण एसियाली ओलम्पिक कमिटी (एसएओसी) को पछिल्लो बैठकले तय गरेको हो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार पत्रकार सम्मेलनमार्फत पाकिस्तानमा सम्पन्न पछिल्लो बैठकका निर्णय तथा १४औँ सागको तयारीबारे जानकारी दिएको हो । एनओसीका अनुसार गत अगस्ट २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा बसेको एसएओसीको बैठकमा प्रतियोगिताको आयोजना, खेल संख्या, सहभागी खेलाडी तथा पदाधिकारी, खेलस्थललगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

बैठकमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य लगाएतको उपस्थित रहेको थियो ।
१४औँ सागमा प्रारम्भिक रूपमा २८ खेल समावेश गरिएको छ । तीमध्ये २५ खेलमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ भने तीन खेलमा पुरुषतर्फ मात्र प्रतियोगिता सञ्चालन हुनेछ । प्रारम्भिक सूचीअनुसार एथलेटिक्स, अक्वाटिक्स (पौडी), आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३×३ र ५×५), बिलियर्ड्स तथा स्नूकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल तथा बिच ह्यान्डबल, हक्की, जुडो, कबड्डी, कराँते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल तथा बिच भलिबल, भारोत्तोलन, कुस्ती र उसु समावेश छन् ।
बिलियर्ड्स, हक्की, रग्बी र बिच भलिबलमा महिलातर्फ प्रतिस्पर्धा नहुने प्रारम्भिक सूचीमा उल्लेख छ ।
२८ खेलमा कुल ३४६ स्वर्ण, ३४६ रजत र ५१५ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ । यद्यपि खेल संख्या, इभेन्ट र सहभागीको अन्तिम सूची भने अझै तय हुन बाँकी रहेको एनओसी अध्यक्ष श्रेष्ठले स्पष्ट पारेका छन् ।
प्रारम्भिक विवरणअनुसार १४औँ सागमा सात दक्षिण एसियाली राष्ट्रबाट खेलाडी र अफिसियल गरी कुल ४ हजार १९१ जनाको सहभागिता रहने अनुमान गरिएको छ । जसमा ३ हजार १७२ खेलाडी र १ हजार १९ अफिसियल रहनेछन् ।
नेपालबाट ५३२ खेलाडी र १५३ अफिसियल गरी ६८५ जनाको सहभागिता रहने प्रारम्भिक अनुमान गरिएको छ । आयोजक पाकिस्तानबाट ६७० खेलाडी र २०२ अफिसियल, श्रीलंकाबाट ६७० खेलाडी र २५१ अफिसियल, बंगलादेशबाट ४८२ खेलाडी र १२२ अफिसियल, भारतबाट ४७२ खेलाडी र २०२ अफिसियल, माल्दिभ्सबाट २६१ खेलाडी र ६८ अफिसियल तथा भुटानबाट ८५ खेलाडी र २१ अफिसियल सहभागी हुने प्रारम्भिक विवरण छ ।
पाकिस्तानले १४औँ साग तीन शहरमा आयोजना गर्ने तयारी गरेको छ । राजधानी इस्लामाबादमा १५, लाहोरमा १० र पेशावरमा तीन खेल सञ्चालन गर्ने योजना छ ।
इस्लामाबादमा एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, स्नूकर, फुटबल, कबड्डी, कराँते, रोइङ, स्क्वास, टेबलटेनिस, टेनिस, ट्रायथलन, भारोत्तोलन, उसु र सुटिङ सञ्चालन हुनेछन् ।
त्यस्तै, लाहोरमा बक्सिङ, क्रिकेट, फेन्सिङ, गल्फ, ह्यान्डबल, हक्की, रग्बी, पौडी, तेक्वान्दो र कुस्ती आयोजना गर्ने तयारी छ । पेशावरमा आर्चरी, जुडो र भलिबल सञ्चालन हुनेछन् ।
प्रतियोगिताको उद्घाटन समारोह इस्लामाबादस्थित जिन्ना स्टेडियममा हुने भएको छ । करिब ५० हजार दर्शक क्षमताको उक्त रंगशालामा सागको उद्घाटन कार्यक्रम आयोजना गर्ने तयारी पाकिस्तानले गरेको एनओसीले जनाएको छ ।
यसैबीच, दक्षिण एसियाली खेलकुदलाई निर्धारित समयमा सम्पन्न गराउन एसएओसीले नयाँ समन्वय समिति गठन गरेको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा श्रीलंका, बंगलादेश र भुटानका ओलम्पिक कमिटीका महासचिव तथा ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधि सदस्य रहनेछन् ।
दक्षिण एसियाली खेलकुदको इतिहासमा पहिलोपटक यस्तो समन्वय समिति गठन गरिएको एनओसीले जनाएको छ । समितिले आयोजक राष्ट्रको ओलम्पिक कमिटी तथा सरकारसँग समन्वय गर्दै साग निर्धारित समयमा आयोजना गर्न आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।
बैठकका क्रममा एसएओसी प्रतिनिधिमण्डलले पाकिस्तानका प्रधानमन्त्री कार्यालयअन्तर्गत युवा कार्यक्रमका अध्यक्षसँग समेत भेटवार्ता गरेको थियो । भेटमा १४औँ साग निर्धारित समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको एनओसीले जनाएको छ । पाकिस्तानी पक्षले प्रतियोगिता निर्धारित समयमै आयोजना हुनेमा शंका नगर्न आग्रह गरेको पनि एनओसीले जनाएको छ ।

एसएओसी प्रतिनिधिहरूले इस्लामाबादमा निर्माण तथा प्रयोग हुने विभिन्न खेलस्थलको निरीक्षणसमेत गरेका थिए । यसबाट पाकिस्तानले प्रतियोगिताको पूर्वाधार र आयोजनासम्बन्धी तयारीलाई अघि बढाइरहेको संकेत गरेको एनओसीको भनाइ छ ।
यसअघि एनओसीले दक्षिण एसियाली ओलम्पिक कमिटीको स्थायी सचिवालय नेपालमा राख्नुपर्ने प्रस्ताव अघि सारेको थियो । पछिल्लो बैठकमा पनि उक्त प्रस्तावलाई निरन्तरता दिइएको एनओसीले जनाएको छ ।
भारतको सहभागिताका विषयमा पनि बैठकमा छलफल भएको थियो । भारतले पछिल्लो बैठकमा भर्चुअल माध्यमबाट सहभागिता जनाएको भए पनि दक्षिण एसिया बाहिर हुने भौतिक बैठकमा समेत सहभागी हुँदै आएको र १४औँ सागमा भारत सहभागी हुने विषयमा सकारात्मक संकेत प्राप्त भएको एनओसी अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सागको इतिहासमा सबै दक्षिण एसियाली राष्ट्रको सहभागिताले प्रतियोगितालाई थप महत्व र मान्यता दिँदै आएको उल्लेख गर्दै श्रेष्ठले यसपटक पनि सबै राष्ट्र सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको बताए । उनका अनुसार सबै देशको सहभागितासहित १४औँ साग निर्धारित समयमै आयोजना हुने विश्वास गरिएको छ ।
पाकिस्तानमा आयोजना हुने १४औँ सागलाई दक्षिण एसियाली राष्ट्रका खेलाडीबीच प्रतिस्पर्धासँगै क्षेत्रीय खेलकुद सम्बन्धलाई थप बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रतियोगिताको अन्तिम खेल सूची, इभेन्ट तथा सहभागी खेलाडी र अफिसियलको संख्या भने आगामी बैठक तथा तयारीका क्रममा टुंगो लाग्नेछ ।