
काठमाडौँ,भदौ ११ गते ।
कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो जित निकालेको छ । नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रनको योगदान गरे । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै पवन सराफले अविजित २९, मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए । एसीटीका जेक केओघले तीन तथा जित मेहताले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसका लागि डिलन हन्टरले ४४ रन बनाए । अंश तिवारी र कप्तान निक ब्रोएसले समान १९ तथा जेक स्मिथले १४ रन जोडे ।
बलिङतर्फ नेपालका कप्तान कुशल भुर्तेलले तीन विकेट लिए । युवराज खत्रीले दुई तथा साहब आलम, पवन सराफ र विपिन खत्रीले समान एक विकेट लिए ।
यो जितसँगै नेपाल ‘ए’ले चार खेलबाट चार अंक जोडेको छ । नेपालले प्रतियोगितामा सुरुआती दुई खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग नौ विकेटको हार बेहोरेको थियो । त्यसपछि होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रन तथा एसीटीलाई चार विकेटले पराजित गर्दै नेपालले लगातार दुई खेल जितेको हो ।
एसीटी भने चारै खेलमा पराजित हुँदै अंकविहीन छ । उसले किंग्समेन एकेडेमीसँग ६ विकेट, न्युजिल्यान्ड ‘ए’सँग आठ विकेट तथा नर्दन टेरिटोरीसँग ६ विकेटको हार बेहोरेको थियो ।
नेपाल ‘ए’ले अब सिरिजको पाँचौँ खेलमा आज किंग्समेन एकेडेमीको सामना गर्दैछ । खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ ।
नेपाल र किंग्समेन दुवैले चार खेलबाट दुई जित र दुई हारसहित समान चार अंक जोडेका छन् । त्यसैले आजको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने महत्वपूर्ण अवसर हुनेछ ।
पछिल्ला दुई खेलमा लगातार जित निकालेको नेपाल आत्मविश्वासका साथ मैदान उत्रनेछ । यता किंग्समेनले पहिलो खेलमा एसीटीलाई पराजित गरे पनि त्यसपछि भिक्टोरिया क्रिकेट संघ र नर्दन टेरिटोरीसँग पराजय बेहोरेको थियो । किंग्समेनले पछिल्लो खेलमा भने न्युजिल्यान्ड ‘ए’लाई पराजित गर्दै पुनरागमन गरेको थियो ।
लगातार दुई जितपछि लयमा फर्किएको नेपाल ‘ए’ आज किंग्समेनविरुद्ध जित निकाल्दै प्रतियोगितामा आफ्नो जितको यात्रा तीन खेलसम्म पुर्याउने लक्ष्यमा हुनेछ ।