
काठमाडौं, भदौ ३ गते ।
नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले नेस स्पोर्ट ग्लोबललाई आफ्नो रणनीतिक साझेदारका रूपमा घोषणा गरेको छ ।
नेपाली क्रिकेटको विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको सम्भावनालाई थप उचाइमा पुर्याउने उद्देश्यसहित सुदूरपश्चिम रोयल्स र नेस स्पोर्ट ग्लोबलबीच रणनीतिक साझेदारी भएको हो ।
सम्झौतापत्रमा नेस स्पोर्ट ग्लोबलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निसान्त अल्भारेस र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नेस स्पोर्ट ग्लोबलका सीईओ अल्भारेसले नेपाली क्रिकेटका लागि महत्वपूर्ण समयमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए ।
उनले नेपाल क्रिकेट राष्ट्रका रूपमा अघि बढिरहेको र नेपाली क्रिकेटको सम्भावना निकै ठूलो रहेको उल्लेख गर्दै सुदूरपश्चिम रोयल्सलाई बलियो र सफल फ्रेन्चाइजका रूपमा विकास गर्ने नेतृत्वको दृष्टिकोणसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
अल्भारेसले यो साझेदारीलाई सम्भव बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेस स्पोर्ट ग्लोबलका नेपाल प्रमुख सञ्चालन अधिकृत राजीव तिवारीप्रति पनि आभार व्यक्त गरे ।
उनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउँदै सुदूरपश्चिम रोयल्सलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा समेत थप उचाइमा पुर्याउने लक्ष्यका साथ सहकार्य अघि बढाउने बताए ।
यता, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले नेस स्पोर्ट ग्लोबलसँगको साझेदारीलाई टोलीका लागि महत्वपूर्ण र सकारात्मक कदमका रूपमा लिएको बताए ।
खड्काका अनुसार एनपीएलको तेस्रो संस्करणमा प्रवेश गर्दा टोलीलाई मैदानभित्रको प्रदर्शनसँगै व्यावसायिक तथा रणनीतिक रूपमा समेत थप बलियो बनाउने लक्ष्य रहेको छ ।
उनले नेस स्पोर्ट ग्लोबलबाट एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट रणनीतिक साथ र सहकार्य प्राप्त हुने विश्वास व्यक्त गरे ।
सुदूरपश्चिम रोयल्स र नेस स्पोर्ट ग्लोबलबीचको यो साझेदारीले टोलीको ब्रान्ड विस्तारसँगै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहुँच बढाउन पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
एनपीएलको आगामी संस्करणलाई लक्षित गर्दै भएको यो रणनीतिक साझेदारीले सुदूरपश्चिम रोयल्सको व्यावसायिक संरचना थप मजबुत बनाउने र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयासलाई समेत अघि बढाउने विश्वास गरिएको छ ।