
काठमाडौं, भदौ ३ गते ।
विश्व फुटबलको सबैभन्दा चर्चित घरेलु प्रतियोगितामध्ये एक इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ । विश्वकप सकिएको करिब एक महिनापछि सुरु हुन लागेको यसपटकको प्रिमियर लिगमा उपाधि होडदेखि नयाँ प्रशिक्षक, नयाँ खेलाडी, नयाँ नियम र नवप्रवेशी टोलीसम्मको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
गत सिजन २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेको आर्सनलले नयाँ सिजनको उद्घाटन खेलमै नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।
फिफा विश्वकप २०२६ सकिएको केही सातामै प्रिमियर लिग सुरु हुन लागेकाले यसपटकको सिजन अघिल्ला वर्षभन्दा केही फरक देखिनेछ । विश्वकपमा लामो समयसम्म खेलेका खेलाडीको फिटनेस, आराम र क्लबमा पुनःलयमा फर्किने विषयले पनि सुरुवाती चरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
खेलाडीलाई पर्याप्त आराम र व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरलाई ध्यानमा राख्दै प्रिमियर लिगको नयाँ सिजन अघिल्ला वर्षको तुलनामा केही ढिलो सुरु गरिएको हो ।
यसपटक लिगमा नौ टोली नयाँ प्रशिक्षकसहित मैदानमा उत्रिँदैछन् । आर्सनलका मिकेल आर्टेटा निरन्तरता पाएका प्रमुख प्रशिक्षकमध्ये एक हुन् भने म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको लामो कार्यकालपछि एन्जो मारेस्काले जिम्मेवारी सम्हालेका छन् ।
लिभरपुलमा एन्डोनी इराओला, चेल्सीमा जाबी अलोन्सो तथा म्यानचेस्टर युनाइटेडमा माइकल क्यारिकले नयाँ अध्याय सुरु गर्दैछन् ।
उपाधि रक्षा गर्ने तयारीमा रहेको आर्सनलले टोलीलाई थप बलियो बनाएको छ । क्लबले यसै समरमा ब्रुनो गिमारेस, पिएरो हिन्कापी, क्रिस्टोस जोलिस र गोलकिपर इलान मेस्लियरलाई अनुबन्ध गरिसकेको छ ।
आर्सनलले खेलाडी अनुबन्धमा ठूलो लगानी गरेको छ । एफए कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटीलाई तीन–शून्यले पराजित गर्दा नयाँ खेलाडी जोलिसले दुई असिस्ट गरेका थिए भने गिमारेसले मिडफिल्डमा प्रभाव देखाएका थिए । यसले आर्सनलको नयाँ सिजनको टोलीगत गहिराइको संकेत गरेको छ ।
यता, म्यानचेस्टर सिटीका लागि भने नयाँ प्रशिक्षकसहित नयाँ युगको सुरुवात हुनेछ । पेप ग्वार्डिओलापछि एन्जो मारेस्काले टोलीको जिम्मेवारी सम्हालेका छन् । सिटीले नटिङहम फरेस्टबाट इंग्ल्यान्डका मिडफिल्डर इलियट एन्डरसनलाई ठूलो रकममा भित्र्याएको छ ।
तर सिटीका लागि सबैभन्दा ठूलो चुनौती रोड्रीको बहिर्गमन हुनेछ । स्पेनका विश्वकप विजेता तथा बालोन डी’ओर विजेता रोड्री बार्सिलोना पुगेपछि उनको स्थान पूर्ति गर्नु मारेस्काका लागि महत्वपूर्ण चुनौती बनेको छ ।
म्यानचेस्टर युनाइटेडले पनि यसपटक आफ्नो मिडफिल्डलाई बलियो बनाउने प्रयास गरेको छ । एस्टन भिल्लाबाट युरी टिलेमान्स तथा चेल्सीबाट ब्राजिलियन मिडफिल्डर आन्द्रे सान्तोसलाई भित्र्याउँदै युनाइटेडले लामो समयदेखिको मिडफिल्ड समस्या समाधान गर्ने प्रयास गरेको छ ।
मार्कस रासफोर्डको पुनरागमन पनि युनाइटेडका लागि चर्चाको विषय बनेको छ । बार्सिलोना र एस्टन भिल्लामा लोनमा बिताएपछि रासफोर्ड पुनः युनाइटेडमै फर्किएका छन् ।
यता, लिभरपुलमा पनि नयाँ प्रशिक्षकसँगै नयाँ अध्याय सुरु हुँदैछ । एन्डोनी इराओलाको नेतृत्वमा रहेको लिभरपुलले रेनेसका फ्रान्सेली सेन्टरब्याक जेरेमी ज्याकेलाई तथा ओसासुनाका स्पेनिस विंगर भिक्टर मुनोजलाई अनुबन्ध गरेको छ ।
चेल्सीले भने यसपटक ठूलो लगानी गरेको छ । एस्टन भिल्लाबाट इंग्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सलाई क्लब–रेकर्ड शुल्कमा अनुबन्ध गरेको छ । नयाँ प्रशिक्षक जाबी अलोन्सोको टोलीमा अनुभवी खेलाडीसमेत थपिएका छन् ।
यससँगै चेल्सीले युवा प्रतिभालाई प्राथमिकता दिँदै विभिन्न क्लबबाट नयाँ खेलाडी भित्र्याएको छ । युवा खेलाडी र अनुभवी प्रिमियर लिग खेलाडीको मिश्रणबाट बलियो टोली बनाउने रणनीति चेल्सीको देखिन्छ ।
तर नयाँ सिजन सुरु भए पनि ट्रान्सफर बजार भने अझै बन्द भएको छैन । क्लबहरूले सेप्टेम्बर १ सम्म खेलाडी अनुबन्ध गर्न पाउने भएकाले सिजन सुरु भएपछि पनि टोलीमा थप परिवर्तन हुन सक्ने सम्भावना छ ।
यसपटक च्याम्पियनसिपबाट कोभेन्ट्री सिटी, इप्सविच टाउन र हल सिटी प्रिमियर लिगमा फर्किएका छन् । तीनै टोलीका लागि शीर्ष डिभिजनमा टिक्नु पहिलो प्राथमिकता हुनेछ ।
फ्रांक लाम्पार्डको प्रशिक्षणमा रहेको कोभेन्ट्री २५ वर्षपछि पहिलोपटक प्रिमियर लिग खेल्दैछ । उसले आफ्नो पहिलो खेलमै गत सिजनको च्याम्पियन आर्सनलको सामना गर्नुपर्नेछ ।
इप्सविच भने एक वर्षमै प्रिमियर लिगमा फर्किएको हो । नयाँ प्रशिक्षक ग्यारी ओ’निलको नेतृत्वमा रहेको इप्सविचले यसपटक शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित राख्ने लक्ष्य राखेको छ ।
हल सिटीले भने प्लेअफमार्फत प्रिमियर लिगमा स्थान बनाएको हो । सर्गेइ जाकिरोभिकको टोलीका लागि डिफेन्स सुधार गर्नु प्रमुख चुनौतीका रूपमा रहनेछ ।
पछिल्ला वर्षको तथ्याङ्कले पनि नवप्रवेशी टोलीका लागि प्रिमियर लिगको चुनौती कति कठिन छ भन्ने देखाउँछ । पछिल्ला दुई सिजनमा बढुवा भएका सबै छ टोली एक सिजनमै रेलिगेसनमा परेका थिए । पछिल्लो दशकमा बढुवा भएका ३० टोलीमध्ये १६ टोलीले पहिलो सिजनमै रेलिगेसनको सामना गरेका छन् ।
नयाँ सिजनमा खेलाडी र प्रशिक्षकसँगै रेफ्रीका लागि पनि केही नयाँ नियम लागू हुँदैछन् । खेलमा समय खेर जाने क्रम घटाउन थ्रो–इन र गोलकिक लिन पाँच सेकेन्डको समयसीमा लागू गरिनेछ ।
त्यसैगरी मैदानमै उपचार गराएका खेलाडीले कम्तीमा एक मिनेट मैदानबाहिर बस्नुपर्नेछ । प्रतिस्थापित खेलाडीले मैदान छाड्न पनि निश्चित समयभित्र बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।
भीएआर प्रणालीमा समेत पारदर्शिता बढाउने प्रयास गरिएको छ । महत्वपूर्ण खेल घटनामा रेफ्री र भीएआर अधिकारीका निर्णय तथा केही अवस्थामा उनीहरूको प्रत्यक्ष उद्धरण सार्वजनिक गर्ने व्यवस्था ल्याइँदैछ ।
विश्वकपको प्रभाव पनि नयाँ सिजनमा देखिने अपेक्षा गरिएको छ । फिफा विश्वकप २०२६ जुलाईको उत्तरार्द्धमा सकिएको र त्यसको केही सातामै प्रिमियर लिग सुरु भएकाले विश्वकपमा लामो समयसम्म खेलेका खेलाडीलाई पूर्ण फिटनेसमा फर्काउन प्रशिक्षकहरूलाई चुनौती हुनसक्छ ।
त्यसैले यसपटक उपाधि तथा शीर्ष चारको दौडमा टोलीको गहिराइ महत्वपूर्ण बन्ने देखिएको छ ।
नयाँ सिजनको पहिलो चरणमै केही आकर्षक खेलहरू तय भएका छन् । उद्घाटन खेलमा आर्सनलले कोभेन्ट्री सिटीको सामना गर्दा दोस्रो दिन हल सिटीले म्यानचेस्टर युनाइटेडलाई आतिथ्यता गर्नेछ । इप्सविचले सन्डरल्यान्डसँग खेल्दै प्रिमियर लिगमा पुनरागमन गर्नेछ ।
नटिङहम फरेस्ट र लिड्स युनाइटेड, ब्रेन्टफोर्ड र टोटेनहम तथा म्यानचेस्टर सिटी र बर्नमाउथबीचको खेलले पनि पहिलो चरणमा दर्शकको ध्यान खिच्नेछ । न्युक्यासल र लिभरपुल तथा फुलहम र चेल्सीबीचको भिडन्त पनि सुरुवातमै महत्वपूर्ण खेलका रूपमा रहनेछ ।
यसपटक उपाधि रक्षा गर्ने आर्सनल, नयाँ प्रशिक्षकसहित मैदानमा उत्रिने लिभरपुल र म्यानचेस्टर सिटी, ठूलो लगानी गरिरहेको चेल्सी तथा पुनरागमनको खोजीमा रहेको म्यानचेस्टर युनाइटेडबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
त्यससँगै प्रिमियर लिगमा फर्किएका कोभेन्ट्री, इप्सविच र हल सिटीका लागि भने शीर्ष डिभिजनमा टिक्ने चुनौती रहनेछ ।
विश्वकपपछिको नयाँ फुटबल सिजनमा नयाँ प्रशिक्षक, नयाँ खेलाडी, नयाँ नियम र नयाँ प्रतिस्पर्धासहित इंग्लिस प्रिमियर लिगले शुक्रबारदेखि अर्को रोमाञ्चक यात्राको सुरुवात गर्दैछ ।