
काठमाडौँ, भदौ २ गते ।
नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्व क्रिकेटर नदिम शाहिदले इटालीमा सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना गर्ने भएका छन्।
इटालियन क्रिकेट फेडेरेसनको आधिकारिक समर्थनमा ‘इटालिया टी–१० क्रिकेट’ को पहिलो संस्करण आगामी नोभेम्बर ७ देखि १५ तारिखसम्म इटालीको राजधानी रोममा आयोजना हुने भएको हो। प्रतियोगितामा विभिन्न ६ सहरमा आधारित फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
लिग अख्तर र शाहिदले स्थापना गरेको एपेक्स टी–१० लिमिटेड मार्फत आयोजना हुन लागेको हो। एसोसिएट राष्ट्रहरूमा टी–१० फ्रेन्चाइज प्रतियोगितामार्फत क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको कम्पनीले इटालीबाट आफ्नो नयाँ परियोजना अघि बढाउन लागेको हो।
आयोजकका अनुसार टी–१० ढाँचा छोटो समयमै सम्पन्न हुने भएकाले यसले क्रिकेटलाई नयाँ दर्शकसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। १० ओभरमा सीमित खेल करिब ९० मिनेटमै सम्पन्न हुने भएकाले व्यस्त जीवनशैलीका दर्शकका लागि समेत टी–१० आकर्षक बन्न सक्ने आयोजकको विश्वास छ।
‘इटालिया टी–१० क्रिकेट’ का खेलहरू विश्वका ३० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। यसले इटालीमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै प्रतियोगिताको पहुँच विस्तार गर्ने आयोजकको योजना छ।
एपेक्स टी–१० का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नदिम शाहिदले इंग्ल्यान्डमा एसेक्स र सरेबाट दुई दशकभन्दा बढी समय प्रथम श्रेणी क्रिकेट खेलेका थिए। उनले इंग्ल्यान्ड ‘ए’ टोलीबाट समेत प्रतिनिधित्व गरिसकेका छन्। लामो समयको खेल अनुभवपछि क्रिकेट व्यवस्थापन र फ्रेन्चाइज प्रतियोगिताको विकासमा सक्रिय शाहिदले इटालीमा टी–१० क्रिकेटको नयाँ संरचना विकास गर्न अख्तरसँग सहकार्य गरेका हुन्।
नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर आमिर अख्तरले भने नेपालमा फ्रेन्चाइज क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले एभरेस्ट प्रिमियर लिग स्थापना गर्दै नेपालमा घरेलु फ्रेन्चाइज क्रिकेटको अवधारणालाई अघि बढाएका थिए। सोही अनुभवलाई इटालीमा समेत प्रयोग गर्दै स्थानीय खेलाडीको क्षमता विकास, प्रतियोगितात्मक अवसरको सिर्जना र घरेलु क्रिकेटको स्तर उकास्ने लक्ष्य लिइएको छ।
इटालियन क्रिकेट फेडेरेसनले प्रतियोगितालाई आधिकारिक समर्थन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वीकृति प्रक्रियाका लागि आवश्यक समन्वय गर्ने जनाएको छ। फेडेरेसनको समर्थनसँगै इटालीमा क्रिकेटलाई थप व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउने प्रयासका रूपमा प्रतियोगितालाई हेरिएको छ।
क्रिकेट सन् २०२८ मा लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदमा पुनः समावेश हुने तयारीमा रहेका बेला इटालीमा सुरु हुन लागेको यो फ्रेन्चाइज टी–१० लिगलाई युरोपमा क्रिकेट विस्तारको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
युरोपेली मुलुकमा क्रिकेटको लोकप्रियता विस्तार गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै इटालीमा क्रिकेटको व्यावसायिक संरचना निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। रोममा हुने पहिलो संस्करणको सफलताले आगामी वर्षहरूमा प्रतियोगितालाई थप विस्तार गर्ने बाटो खोल्ने आयोजकको विश्वास छ।
