
काठमाडौं ,साउन ३० गते।
इटहरी । राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा राज्य र सम्बन्धित खेल निकायले बेवास्ता गरेको भन्दै सुनसरीका सयौँ खेलाडीले दबाबमूलक र्याली निकालेका छन्।
इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका खेलाडीले प्लेकार्डसहित प्रदर्शन गर्दै आशिषको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका हुन्।
२०८० फागुन ३ गते चीनमा भएको मैत्रीपूर्ण खेलमा विपक्षी खेलाडीसँग ठोक्किएर गम्भीर घाइते भएका आशिषको नेपाल र चीनमा उपचारपछि अहिले थाइल्यान्डमा उपचार भइरहेको छ। खुट्टामा मेटल प्लेट राखिएको उनको हड्डी अझै पूर्णरूपमा जोडिन बाँकी रहेको परिवारले जनाएको छ।
लामो समयदेखि उपचार जारी रहँदा परिवारमाथि आर्थिक भार बढ्दै गएको छ। आशिषले एन्फाबाट अपेक्षित सहयोग निरन्तर प्राप्त गर्न कठिन भइरहेको गुनासो गरेका छन्।
एन्फाले भने चीन र थाइल्यान्डसम्मको उपचार खर्च व्यहोर्दै आएको दाबी गरेको छ। बैंक खाता रोक्का हुँदा आर्थिक व्यवस्थापनमा प्राविधिक समस्या आएको एन्फाको भनाइ छ।
प्रदर्शनमा सहभागी खेलाडीहरूले आशिषको उपचार तत्काल सहज बनाउन, आवश्यक सम्पूर्ण खर्च सुनिश्चित गर्न र घाइते राष्ट्रिय खेलाडीको दीर्घकालीन पुनःस्थापनाका लागि स्पष्ट नीति बनाउन सरकारसँग माग गरेका छन्।