
काठमाडौं, साउन ३१ गते ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस विधाका पाँच मनोनयन सार्वजनिक गरेको हो।
पिपल्स च्वाइस अवार्डका लागि भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट मनोनयनमा परेका छन्।
खेलाडीको लोकप्रियता, पछिल्लो समयको प्रदर्शन तथा नेपाली खेलकुदमा उनीहरूले पुर्याएको योगदानका आधारमा पाँच खेलाडीलाई पिपल्स च्वाइस अवार्डको प्रतिस्पर्धामा अघि सारिएको हो। मनोनयनमा परेका खेलाडीले अब समर्थक, खेल पत्रकार, प्रशिक्षक तथा खेलकुदसँग सम्बन्धित विभिन्न क्षेत्रबाट प्राप्त मतका आधारमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
खल्ती बाई आईएमईसँग भोटिङ पार्टनर सम्झौता
यसै अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानी सेवाप्रदायक खल्ती बाई आईएमई बीच पिपल्स च्वाइस अवार्डको भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ।
सम्झौतापत्रमा खल्ती बाई आईएमईकी म्यानेजर पूजा धामी र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरे। सम्झौताअनुसार पिपल्स च्वाइस अवार्डका लागि डिजिटल वालेट खल्तीमार्फत भोटिङ गर्न सकिनेछ।
सम्झौता कार्यक्रममा धामीले लगातार खेलकुद क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताइन्। खेलाडीको सम्मान र प्रोत्साहनका लागि मञ्चले आयोजना गर्दै आएको स्पोर्ट्स अवार्ड महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उनले यस अभियानसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताइन्।

मञ्चका अध्यक्ष अधिकारीले पनि खल्ती बाई आईएमई परिवारप्रति आभार व्यक्त गर्दै सहकार्यले स्पोर्ट्स अवार्डलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। महासचिव अञ्जन खड्काले समेत निरन्तर सहकार्यका लागि खल्ती परिवारप्रति धन्यवाद व्यक्त गरे।
एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले पिपल्स च्वाइस अवार्डलाई स्पोर्ट्स अवार्डको महत्वपूर्ण विधाका रूपमा व्याख्या गरे। उनका अनुसार यस विधामा मनोनयनमा पर्ने खेलाडी महिनाभर चर्चामा रहने भएकाले यसले खेलाडीको लोकप्रियता बढाउनुका साथै समग्र स्पोर्ट्स अवार्डको गरिमा पनि बढाउनेछ।
भोटिङमा यसपटक नयाँ शैली

यस वर्ष पिपल्स च्वाइस अवार्डको भोटिङ प्रक्रियामा एनएसजेएफले नयाँ व्यवस्था लागू गरेको छ। विगतमा समर्थकले आफूले चाहेजति रकमको भोट एकैपटक गर्न सक्ने व्यवस्था रहे पनि यसपटक त्यसलाई परिवर्तन गरिएको हो।
नयाँ व्यवस्थाअनुसार एक समर्थकले एक युजरबाट एक दिनमा एकपटक मात्र भोट गर्न पाउनेछ। एक भोटका लागि १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यद्यपि समर्थकले आफ्नो मनपर्ने खेलाडीलाई प्रत्येक दिन भोट गर्न सक्नेछन्।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले विगतको भोटिङ प्रणालीका कारण समर्थकले ठूलो रकम खर्च गरेर एकैपटक धेरै मत दिन सक्ने अवस्था रहेको र त्यसले योग्य उम्मेदवारभन्दा अन्य उम्मेदवारलाई फाइदा पुग्न सक्ने आलोचना भएको बताए।
उनले मञ्चको उद्देश्य नाफा कमाउनेभन्दा योग्य खेलाडीलाई अगाडि ल्याउनु रहेको स्पष्ट पार्दै नयाँ प्रणाली लागू गरिएको बताए। नयाँ व्यवस्थाले सबै उम्मेदवारलाई तुलनात्मक रूपमा समान अवसर प्रदान गर्ने र निष्पक्ष प्रतिस्पर्धा हुने विश्वास मञ्चले लिएको छ।
कसरी छनोट हुनेछ विजेता
पिपल्स च्वाइस अवार्डको विजेता विभिन्न क्षेत्रबाट प्राप्त मतका आधारमा छनोट हुनेछ। विजेता छनोटमा डिजिटल वालेट खल्ती बाई आईएमईको मतभार ५० प्रतिशत रहनेछ भने बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यबाट प्राप्त मतको हुनेछ।
फेसबुकमार्फत मत दिँदा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेज तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेज प्रयोग गर्नुपर्नेछ।
डिजिटल वालेट खल्ती बाई आईएमईमार्फत पिपल्स च्वाइस अवार्डको भोटिङ सुरु भइसकेको मञ्चले जनाएको छ। यस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्।
गत वर्षको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जितेका थिए।
मनोनयनमा परेका खेलाडी उत्साहित
पिपल्स च्वाइस अवार्डमा मनोनयनमा परेपछि कराते खेलाडी सानुमाया थिङले खुसी व्यक्त गरिन्। एसियाली खेलकुदको व्यक्तिगत काता तथा टिम काताका लागि छनोट भएकी थिङले यो मनोनयनले आफ्नो खेल करिअरमा थप ऊर्जा प्रदान गरेको बताइन्।
उनले आफ्नो सफलताका लागि कराते परिवार, प्रशिक्षक मण्डेकाजी श्रेष्ठ लगायत सबैलाई धन्यवाद दिइन्। पिपल्स च्वाइस अवार्डमा मनोनयनमा पर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
त्यस्तै, नेपाली महिला भलिबलकी युवा खेलाडी मीना सुनारले पनि पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुलाई गर्वको विषय भएको बताइन्। उनी हाल एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा समेत रहेकी छन्।
मनोनयनमा परेका फुटबलकी पूजा राना, क्रिकेटका शेर मल्ल र एमएमए खेलाडी रवीन्द्र ढाँट भने विदेशमा रहेकाले आइतबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन्।
मनोनयनमा परेका पाँच खेलाडीको प्रदर्शन
मीना सुनार — भलिबल
मीना सुनार नेपाली महिला भलिबलकी उदीयमान तथा शक्तिशाली स्पाइकरका रूपमा परिचित छिन्। उनले काभा महिला च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गरेकी थिइन्। काभा महिला क्लब च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्दा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो। उनी एभरेस्ट भलिबल क्लब, बुटवलकी कप्तान समेत हुन्।
पूजा राना — फुटबल
फुटबलकी पूजा रानाले एसियन कप छनोटमा उज्वेकिस्तानमा उच्चस्तरीय प्रदर्शन गरेकी थिइन्। उनले नेपाली महिला फुटबलमा प्रभाव छाड्नुका साथै विदेशमा व्यावसायिक फुटबलको अनुभव पनि हासिल गरेकी छन्।
राना भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीसँग आबद्ध भएर व्यावसायिक फुटबल खेलेकी छन्।
सानुमाया थिङ — कराते
कराते खेलाडी सानुमाया थिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। उनले इजिप्टको कायरोमा भएको विश्व कराते च्याम्पियनसिपमा व्यक्तिगत कातामा सहभागिता जनाएकी थिइन्।
त्यस्तै, २१औँ एसियन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिङले दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण तथा व्यक्तिगत कातामा रजत पदक जितेकी छन्। उनले यूकेकेसी वान अल्टिमेट काता तथा कुमिते च्यालेन्जमा समेत स्वर्ण पदक हासिल गरेकी छन्।
शेर मल्ल — क्रिकेट
क्रिकेटर शेर मल्लले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली सुरुवात गरेका छन्। उनले आईसीसी टी–२० विश्वकपमा डेब्यु खेलमै पहिलो बलमा विकेट लिन सफल भएका थिए।
मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा उनले हङकङविरुद्ध चार विकेट तथा मलेसियाविरुद्ध तीन विकेट लिएर प्रभाव छाडेका थिए।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मल्लले प्रतियोगिताका १० खेलमा १७ विकेट लिन सफल भएका थिए।
रवीन्द्र ढाँट — मिक्स्ड मार्सल आर्ट्स
‘बझाङका बाघ’का रूपमा चर्चित एमएमए फाइटर रवीन्द्र ढाँटले नेपाली मिक्स्ड मार्सल आर्ट्समा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
उनले गत वर्ष म्याट्रिक्स फाइट नाइट–१७ मा बेन्टमवेट च्याम्पियनको उपाधि जितेका थिए। उनी एसिया–प्यासिफिक क्षेत्रमा २०५औँ वरीयतामा रहेका छन्। त्यस्तै, रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बन्न सफल भएका ढाँटले नेपाली एमएमएलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
यसरी पाँच फरक खेलका पाँच खेलाडी पिपल्स च्वाइस अवार्डको प्रतिस्पर्धामा उत्रिएका छन्। नयाँ भोटिङ प्रणालीसँगै यसपटकको प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।