आईची नागोया एशियन गेम्स् २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

काठमाडौं ,साउन ३० गते।
नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदमा तेक्वान्दोखेलको निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिख सम्म आयोजना हुने एसियाली खेलकुदमा एसियाका ४५ राष्ट्र तथा क्षेत्रका खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्। ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त शिवाकोटीका लागि एशियन गेम्स्मा निर्णायकको जिम्मेवारी नेपाली तेक्वान्दोको प्राविधिक क्षमताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ । उनी नेपाल तेक्वान्दोसंघका केन्द्रीय सदस्य समेत हुन् भने दुई कार्यकाल संघका टेक्निकल डेलिगेट्स (टीडी) समेत भई आफ्नो उत्कृष्ट व्यवस्थापकीय शीपद्धारा तेक्वान्दो खेल प्रतियोगिताको स्तर उन्नतिमा समेत योगदान दिईसकेका छन्।
शिवाकोटीले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए । त्यसपछि सन् २०२४ सेप्टेम्बर १७ देखि २५ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै उनले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा आफ्नो स्थान बनाएका थिए ।
शिवाकोटीले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारत, मंगोलियामा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय एवम्एशियन तेक्वान्दो प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
उनको अन्तर्राष्ट्रिय निर्णायक यात्रामा पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताहरू थपिँदै गएका छन्। सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा भएको डब्लुटी प्रेसिडेन्ट्स कप (जी–३) ओपन तेक्वान्दो प्रतियोगितामा पनि सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरी, सन्२०२६ मेमा मंगोलियाको उलानबाटरमा भएको २७ औं एसियन तेक्वान्दो च्याम्पियनसिप, नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आइची–नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
शिवाकोटीले सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलस्थित कोरिया नेसनल स्पोट्र्स एकेडेमीमा आयोजना भएको एटीयू रेफ्री एजुकेसन कोर्स द्दण्द्दट मा पनि छनौट भई सहभागिता जनाएका थिए । एसियाका ४० राष्ट्रका करिब एक सय रेफ्री सहभागी भएको उक्त प्रशिक्षणमा विश्व तेक्वान्दोले परिमार्जन गरेका नयाँ नियमबारे प्रशिक्षण दिइएको थियो । ती नियम सन्२०२६ जुन १ देखि लागू भएका छन्र एसियाली क्षेत्रमा आयोजना हुने प्रतियोगितामा प्रयोग हुँदै आएका छन्।
उनको प्राविधिक दक्षतालाई थप जिम्मेवारी दिँदै एसियन तेक्वान्दो युनियन (एटीयू) ले शिवाकोटीलाई सन् २०२६ का लागि आफ्नो टेक्निकल कमिटी सदस्यमा नियुक्त गरेको छ । ब्त्ग् को टेक्निकल कमिटीमा उनको नियुक्तिले नेपाली तेक्वान्दोका प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय पहुँच र विश्वसनीयता समेत बढाएको छ ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यका रूपमा प्रशासनिक तथा प्राविधिक जिम्मेवारीसमेत सम्हालिरहेका शिवाकोटीले नेपालमा रेफ्रीविकासका गतिविधिमा पनि सक्रिय भूमिका खेल्दै आएका छन्। राष्ट्रिय निर्णायकका लागि रिफ्रेसर कोर्स तथा प्राविधिक प्रशिक्षण सञ्चालनमा उनकोसहभागिता रहँदै आएको छ । अब नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीहरूका प्रदर्शनसँगै नेपाली प्राविधिकको उपस्थितिले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछ । एसियाली खेलकुदको तेक्वान्दो म्याटमा निष्पक्ष निर्णय गर्दै नेपालको प्रतिष्ठा थप उचो बनाउने जिम्मेवारी शिवाकोटीको काँधमा रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ