
काठमाडौं साउन १६ गते ।
नेपाल गोर्खा खुकुरी मार्सल आटर््स संघको आयोजनामा राष्ट्रिय सेमिनार टोखा नगरपालिका–५ स्थित निर्मल वाटिका फुटसलमा शनिबार सम्पन्न भएको छ ।
सेमिनारमा संघअन्तर्गतका विभिन्न शाखाबाट करिब २५० जना खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो । सेमिनारको मुख्य उद्देश्य गोर्खा खुकुरी मार्सल आटर््सका नियम, अनुशासन, प्रशिक्षण प्रणाली तथा प्राविधिक पक्षमा एकरूपता कायम गर्नुका साथै आगामी भदौ महिनामा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपको प्रभावकारी तयारीका लागि शाखा, प्रशिक्षक र खेलाडीहरूलाई आवश्यक प्रशिक्षण, जानकारी तथा सचेतना प्रदान गर्नु रहेको संघले जनाएको छ ।
सेमिनारमा प्रमुख प्रशिक्षक मास्टर बोगटीले खेलका नियम, प्रविधि, प्रशिक्षण विधि र खेलाडीले पालना गर्नुपर्ने अनुशासनबारे प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा संघका चिफ कोच शंकर, विभिन्न शाखाका प्रशिक्षक, संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
सहभागी खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि आवश्यक सीप, आत्मविश्वास र अनुशासन विकास गर्न प्रेरित गर्दै सेमिनार सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
नेपाल गोर्खा खुकुरी मार्सल आटर््स संघले भविष्यमा पनि यस्ता प्रशिक्षणमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै सक्षम, अनुशासित र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने आफ्नो अभियानलाई थप सशक्त बनाउने जनाएको छ ।