खेलाडीको प्रदर्शन अभिवृद्धिका लागि ‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ’ राष्ट्रिय सेमिनार सम्पन्न, खेल विज्ञानलाई देशव्यापी बनाउने प्रतिबद्धता

काठमाडौं, साउन १६ गते।
नेपाली खेलकुदलाई वैज्ञानिक प्रशिक्षण प्रणालीसँग जोड्दै खेलाडीको शारीरिक क्षमता, प्रदर्शन र प्रतिस्पर्धात्मक स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘स्ट्रेन्थ एण्ड कन्डिसनिङः वैज्ञानिक सिद्धान्त र खेल प्रदर्शनमा व्यावहारिक अनुप्रयोग’ विषयक दुईदिने राष्ट्रिय सेमिनार तथा व्यावहारिक कार्यशाला बासबारीस्थित नाडा एकेडेमी एण्ड रिसर्च सेन्टरमा सम्पन्न भएको छ।


इन्स्टिच्युट अफ स्पोर्ट्स साइन्स एण्ड रिसर्च नेपाल आइ एस एस आर नेपालको आयोजनामा नाडा एकेडेमी एण्ड रिसर्च सेन्टर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा त्रिभुवन विश्वविद्यालयको स्पोर्ट्स साइन्स कार्यक्रम को सहकार्यमा सम्पन्न सेमिनारमा देशभरका प्रशिक्षक, खेलाडी, फिजियोथेरापिस्ट, खेल विज्ञानका विद्यार्थी, खेल प्रशासक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दोस्रो दिनको पहिलो प्राविधिक सत्रमा डा. प्रकाश प्रधान र अमृत कोइराला ले कार्यक्रम डिजाइन तथा पिरियडाइजेसन विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले खेलाडीको उमेर, खेलको प्रकृति, प्रतियोगिताको समयतालिका तथा शारीरिक अवस्थाअनुसार प्रशिक्षण योजनालाई वैज्ञानिक रूपमा कसरी तयार गर्ने भन्ने विषयमा विस्तृत प्रस्तुति दिएका थिए।

उनीहरूको प्रस्तुतिले प्रशिक्षण योजनाको वैज्ञानिक व्यवस्थापनले खेलाडीको दीर्घकालीन प्रदर्शनमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारेको थियो।
त्यसपछि आयोजित दोस्रो सत्रमा अस्ट्रियाका अन्तर्राष्ट्रिय प्रशिक्षक ग्रेगर बियालोवास तथा नाडा एकेडेमी एण्ड रिसर्च सेन्टरको टोलीले एड्भान्स्ड रेसिस्टेन्स ट्रेनिङ, पावर डेभलपमेन्ट, प्लायोमेट्रिक्स तथा ओलम्पिक लिफ्ट प्रोग्रेसन सम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा खेलाडीको शक्ति, गति, सन्तुलन, विस्फोटक क्षमता तथा खेलअनुसार आवश्यक पर्ने शारीरिक तयारीका आधुनिक विधिहरू प्रत्यक्ष अभ्यासमार्फत सिकाइएको थियो।


दिउँसो सञ्चालन भएको अर्को सत्रमा राजीव महर्जन र रामकृष्ण महर्जन ले खेल प्रदर्शन सुधारका लागि आवश्यक कन्डिसनिङ विधि सम्बन्धी प्रशिक्षण दिएका थिए। उनीहरूले विभिन्न खेलका आवश्यकता अनुसार फरक–फरक प्रशिक्षण प्रणाली अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै सहनशीलता, चुस्तता, गति तथा मांसपेशीको कार्यक्षमता अभिवृद्धि गर्ने वैज्ञानिक उपायबारे सहभागीलाई जानकारी गराएका थिए।
अन्तिम प्राविधिक सत्रमा विवेक विक्रान्त अधिकारी, डा. विकास पराजुली तथा डा. सुरज भुसाल ले रिकभरी व्यवस्थापन, प्रदर्शन अनुगमन, चोटपटक रोकथाम तथा स्पोर्ट्स टेक्नोलोजी सम्बन्धी प्रशिक्षण दिएका थिए। आधुनिक खेल विज्ञानमा जीपीएस ट्र्याकिङ, प्रदर्शन विश्लेषण, रिकभरी प्रोटोकल, खेलाडीको शारीरिक अवस्था मूल्याङ्कन तथा डाटा विश्लेषणको प्रयोगले खेलाडीको प्रदर्शनलाई कसरी प्रभावकारी बनाउँछ भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो।


सेमिनारकै अवसरमा आइ एस एस आर नेपाल र नाडा एकेडेमी एण्ड रिसर्च सेन्टरबीच समझदारीपत्र मा हस्ताक्षर गरिएको छ। दुवै संस्थाले आगामी दिनमा खेल विज्ञान, अनुसन्धान, प्रशिक्षण तथा क्षमता विकासका क्षेत्रमा संयुक्त रूपमा सहकार्य गर्दै नेपालमा खेल विज्ञानको संस्थागत विकासका लागि हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समापन समारोहमा सम्पूर्ण प्राविधिक सत्रहरूको समीक्षा, विशेषज्ञहरूसँग प्यानल छलफल, सहभागीहरूको अनुभव आदान–प्रदान तथा प्रमाणपत्र वितरण गरिएको थियो।आइ एस एस आर नेपालका अध्यक्ष डा. रुपेश केसी लगायतका पदाधिकारीले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता कार्यक्रमले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी प्रशिक्षक, खेल विज्ञानका विद्यार्थी, फिजियोथेरापिस्ट, प्रशिक्षक, खेलकर्मी तथा स्वास्थ्यकर्मीहरूले नेपालमा खेल विज्ञानको विकासका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा राखेका थिए।


आइ एस एस आर नेपालका अध्यक्ष डा. रुपेश केसीले खेल विज्ञान अब केही सीमित व्यक्तिको विषय मात्र नरहेको उल्लेख गर्दै इच्छाशक्ति भएका सबै खेलाडी, प्रशिक्षक र खेलकर्मीले यस्ता प्रशिक्षणमा सहभागी हुनुपर्ने बताए। नेपालमा वैज्ञानिक प्रशिक्षणको संस्कृतिलाई विस्तार गर्न आगामी दिनमा देशका विभिन्न प्रदेश र जिल्लामा पनि यस्ता सेमिनार सञ्चालन गरिने प्रतिबद्धता उनले व्यक्त गरे।


डा. रुपेश केसी, अध्यक्ष –आइ एस एस आर नेपाल) त्यसैगरी अस्ट्रियाका अन्तर्राष्ट्रिय प्रशिक्षक ग्रेगर बियालोवासले नेपालका प्रशिक्षक तथा खेलकर्मीसँग आफ्नो ज्ञान र अनुभव आदान–प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे। नेपाली खेल क्षेत्रमा सिक्ने उत्साह अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागी भई आफ्नो अनुभव बाँड्ने अवसरको अपेक्षा रहेको बताए। आफ्नो ज्ञान अरूसँग साझा गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ थियो।
ग्रेगर बियालोवास, अन्तर्राष्ट्रिय प्रशिक्षक – अस्ट्रिया)

यस्तै विवेक विक्रान्त अधिकारीले आफूले आर्जन गरेको ज्ञान र सीप नयाँ पुस्ताका प्रशिक्षक तथा खेलकर्मीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। नेपालमा खेल विज्ञानको प्रयोग बढ्दै गए खेलाडीको प्रदर्शनमा उल्लेखनीय सुधार आउने विश्वास उनले व्यक्त गरे।


विवेक विक्रान्त अधिकारी, प्रशिक्षक) कार्यक्रमको समापनमा सेमिनार सफल बनाउन योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्व, प्रशिक्षक तथा सहकार्य गर्ने संस्थाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
आयोजक संस्था आइ एस एस आर नेपाल ले खेल विज्ञानमा आधारित अनुसन्धान, आधुनिक प्रशिक्षण प्रणाली तथा दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुका साथै नेपालको खेलकुद क्षेत्रमा वैज्ञानिक अभ्यासलाई संस्थागत रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ