काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली भिड्दै

काठमाडौं,साउन १५ गते।

पेसएक्स स्पोर्ट्सको आयोजनामा साउन १५ गतेदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड’ खुल्ला फुटसल प्रतियोगिता सुरु भएको छ। बुढानिलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा एक विशेष समारोहका बीच प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्ण, मानव संसाधन निर्देशक कुन्दन कर्ण, तथा कार्यकारी निर्देशक डा. रेशव दास लगायतका अतिथिहरूले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष संगीता कर्णले पेसएक्स स्पोर्ट्स नेपालको पहिलो पूर्ण स्तरीय खेलकुद प्रशिक्षण तथा व्यवस्थापन कम्पनी भएको बताइन्। “नेपालमा खेलकुदको अपार सम्भावना छ, तर ग्रासरुट तहमा गुणस्तरीय प्रशिक्षण र दीर्घकालीन दिगोपनको कमी छ,” कर्णले भनिन्, “ती चुनौतीलाई सम्बोधन गर्दै नेपाली खेलकुदको भविष्य रूपान्तरण गर्न हामी अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय लगावलाई जोडेर अघि बढेका छौँ।”

उनका अनुसार पेसएक्स केवल एउटा प्रशिक्षण केन्द्र मात्र नभई खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुद निकायहरूलाई जोड्ने साझा मञ्चको रूपमा स्थापित हुने लक्ष्य राखिएको छ।

प्रतियोगिताको पहिलो दिन अहिलेसम्म चार वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्:

पहिलो खेल: नोबेल फुटबल एकेडमीले पिसीपिएसलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गर्यो।

दोस्रो खेल: सेखा एफसी र जि एण्ड ए एकेडमीबीचको रोमाञ्चक खेल २-२ को बराबरीमा सकियो।

तेस्रो खेल: हिमालयन एफसी र डाइनामिक एफसीबीचको खेल १-१ को बराबरीमा टुङ्गियो।

चौथो खेल: एभरेष्ट एफसीले करुणा एफसीलाई १-० को कठिन अन्तरले पराजित गर्यो।

विजेताले १ लाख ११ हजार पाउने, ३२ टोली प्रतिस्पर्धामा
साउन १५ देखि १७ गतेसम्म (जुलाई ३१ देखि अगस्ट २) चल्ने यस तीन दिने प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका खेलाडीहरूको समेत उपस्थिति रहेको यस प्रतियोगितालाई निष्पक्ष र मर्यादित बनाउन व्यावसायिक (प्रोफेसनल) रेफ्रीहरूद्वारा खेल सञ्चालन गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु १,११,१११ (एक लाख ११ हजार एक सय ११) का साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी:

उपविजेता (दोस्रो): नगद रु ५१,१११

तेस्रो स्थान: नगद रु २१,१११

विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको पेसएक्स स्पोर्ट्सले आगामी दिनमा फुटसलका अतिरिक्त अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य लिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ