खेलाडीको प्रदर्शन अभिवृद्धिका लागि दुईदिने ‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ’ राष्ट्रिय सेमिनार तथा व्यावहारिक कार्यशाला सुरु

काठमाडौं, साउन १५ गते।
खेलाडीको शारीरिक क्षमता अभिवृद्धि, चोटपटकको जोखिम न्यूनीकरण तथा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शन हासिल गर्न आवश्यक वैज्ञानिक प्रशिक्षण प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने राष्ट्रिय सेमिनार तथा व्यावहारिक कार्यशाला ‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ : खेल प्रदर्शनमा वैज्ञानिक सिद्धान्त र व्यावहारिक प्रयोग’ शुक्रबारदेखि ललितपुरको सातदोबाटोस्थित स्ट्रोङ्ग एथलेट हल मा सुरु भएको छ।

इन्स्टिच्युट अफ स्पोर्ट्स साइन्स एण्ड रिसर्च नेपाल (आईएसएसआर नेपाल) को आयोजनामा सुरु भएको कार्यशालामा देशभरका प्रशिक्षक, खेलाडी, फिटनेस प्रशिक्षक, फिजियोथेरापिस्ट, खेल विज्ञानका विद्यार्थी तथा खेलसँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममा नाडा एकेडेमी एण्ड रिसर्च सेन्टर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा त्रिभुवन विश्वविद्यालयको स्पोर्ट्स साइन्स कार्यक्रम ले सहकार्य गरेका छन्।

कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयको खेलकुद विज्ञान विभागका प्रमुख तथा प्रमुख अतिथि प्रा. पशुपति अधिकारीले उभिएर ताली बजाउनु हुदै औपचारिक उद्घोषसहित गर्नुभएको थियो। उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य सिक्का सुवाल लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व, प्रशिक्षक, खेल विज्ञानका विज्ञ तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. पशुपति अधिकारीले आधुनिक खेलकुदमा प्रतिभा मात्र पर्याप्त नहुने बताउँदै वैज्ञानिक प्रशिक्षण, अनुसन्धान र खेल विज्ञानको प्रभावकारी प्रयोग अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो। उहाँले विश्वका सफल खेलाडी र टोलीहरूले स्ट्रेन्थ एण्ड कन्डिसनिङलाई प्रशिक्षणको अभिन्न अंगका रूपमा अपनाएको चर्चा गर्दै नेपालले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्न खेल विज्ञानमा आधारित प्रशिक्षण प्रणालीलाई संस्थागत रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले विश्वविद्यालय, खेलकुद संस्था र प्रशिक्षकबीच सहकार्य अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै यस्ता सेमिनारले प्रशिक्षक, खेलाडी तथा खेल विज्ञानका विद्यार्थीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके नेपाली खेलकुदको स्तर थप उकास्न सकिने उहाँको भनाइ थियो।

त्यसैगरी राखेपका बोर्ड सदस्य सिक्का सुवालले खेलकुद क्षेत्रमा वैज्ञानिक सोच र आधुनिक प्रशिक्षण पद्धतिको विकास समयको आवश्यकता भएको बताउनुभयो। उहाँले खेलाडीको शारीरिक क्षमता विकास, चोटपटक न्यूनीकरण र दीर्घकालीन उत्कृष्ट प्रदर्शनका लागि स्ट्रेन्थ एण्ड कन्डिसनिङको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। यस्ता कार्यक्रमले प्रशिक्षक र खेलाडीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण दिने आधार तयार गर्ने विश्वास व्यक्त गर्दै खेल विज्ञानलाई नेपालको खेल विकास नीतिको महत्वपूर्ण अंग बनाउनुपर्ने धारणा राख्नुभयो।

उद्घाटनपछि सहभागीहरूको दर्ता ,परिचय तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो। त्यसपछि नेपालमा स्ट्रेन्थ एण्ड कन्डिसनिङको आवश्यकता, यसको वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे पहिलो प्राविधिक सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रमा बिबेक विक्रान्त अधिकारी र प्रा. पशुपति अधिकारी ले आधुनिक खेलकुदमा वैज्ञानिक प्रशिक्षण प्रणालीको महत्वबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँहरूले खेलाडीको शारीरिक क्षमता विकास, दीर्घकालीन प्रदर्शन सुधार तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुन वैज्ञानिक अभ्यास अनिवार्य बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

पहिलो दिनको दोस्रो सत्रमा डा. प्रभाकर पराजुली र बिबेक विक्रान्त अधिकारी ले एक्सरसाइज फिजियोलोजी, फङ्सनल एनाटोमी तथा फङ्सनल एक्सरसाइज सम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो। यस क्रममा शरीरका विभिन्न मांसपेशीहरूको कार्यप्रणाली, व्यायामका वैज्ञानिक आधार, खेलअनुसार आवश्यक शारीरिक तयारी तथा प्रभावकारी प्रशिक्षण विधिबारे सैद्धान्तिक र व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

तेस्रो सत्रमा ग्रेगर बायालोवास र विधान भण्डारी ले स्ट्रेन्थ ट्रेनिङका आधारभूत सिद्धान्त, प्रशिक्षण योजना निर्माण तथा खेलअनुसार शक्ति विकास गर्ने आधुनिक विधिबारे सहजीकरण गर्नुभयो। यस्तै पहिलो दिनको अन्तिम सत्रमा रिता प्रजापति र आशिष शर्मा ले फिटनेस एसेसमेन्ट तथा परफर्मेन्स टेस्टिङ सम्बन्धी प्रशिक्षण दिनुभयो। यस क्रममा खेलाडीको शारीरिक अवस्था मूल्याङ्कन गर्ने आधुनिक विधि, परीक्षण प्रक्रिया तथा त्यसका आधारमा व्यक्तिगत प्रशिक्षण योजना निर्माण गर्ने विषयमा व्यावहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रमका निर्देशक तथा सञ्चालक धर्मकुमार श्रेष्ठले दुईदिने कार्यशालामा खेलाडीको शक्ति, गति, सहनशक्ति, लचकता, पुनःस्थापना प्रक्रिया, चोटपटक रोकथाम तथा खेल प्रदर्शन सुधारसँग सम्बन्धित आधुनिक वैज्ञानिक विधिबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिने जानकारी दिनुभयो। उहाँले नेपालमा खेल विज्ञानको प्रयोगलाई अझ प्रभावकारी बनाउने, दक्ष प्रशिक्षक उत्पादन गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी तयार पार्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनुभयो।

उहाँका अनुसार कार्यशालाले खेल विज्ञानसँग सम्बन्धित नवीनतम ज्ञान, अनुसन्धान र व्यावहारिक अभ्यासलाई एकै थलोमा आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ। यसबाट प्रशिक्षक, खेलाडी तथा खेल विज्ञानका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण विधिबारे प्रत्यक्ष ज्ञान हासिल गर्ने विश्वास लिइएको छ।

दुईदिने कार्यशाला शनिबारसम्म सञ्चालन हुनेछ। आयोजकले यस्ता कार्यक्रमले नेपालमा वैज्ञानिक प्रशिक्षण संस्कृतिको विकास गर्दै खेलाडीको प्रदर्शन अभिवृद्धि, प्रशिक्षकको क्षमता विकास तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

साथै कार्य क्रमका सभापति अध्यक्ष डा .रुपेश केसीले नेपालमा खेलकुद विज्ञानको क्षेत्रलाई सुदृढ बनाउन इन्स्टिच्युट फर स्पोर्ट्स साइन्स एण्ड रिसर्च नेपाल (आईएसएसआर नेपाल) ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
आईएसएसआर नेपालले नियमित रूपमा शैक्षिक सेमिनार, कार्यशाला, अनुसन्धानमूलक गतिविधि, व्यावसायिक सहकार्य तथा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै खेलकुद विज्ञानलाई प्रमाणमा आधारित बनाउने र त्यसलाई खेलकुद, स्वास्थ्य तथा मानव क्षमताको विकासमा व्यावहारिक रूपमा प्रयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

यसै क्रममा आईएसएसआर नेपालले हालै एकदिने सेमिनार सफलतापूर्वक सम्पन्न गरेको छ। सेमिनारमा खेलकुद विज्ञानका विज्ञ, अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी, खेलकुद प्रशिक्षक तथा प्राविधिक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले खेलकुद विज्ञानका पछिल्ला विकासक्रम, अनुसन्धानका सम्भावना तथा यसको व्यावहारिक प्रयोगका विषयमा ज्ञान तथा अनुभव आदानप्रदान गरेका थिए।

सेमिनारले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच अन्तरविषयगत सहकार्यका लागि महत्वपूर्ण अवसर प्रदान गरेको आईएसएसआर नेपालले जनाएको छ। कार्यक्रममा खेलाडीको क्षमता विकास, चोटपटकको जोखिम न्यूनीकरण, पुनःस्थापना, शारीरिक शिक्षा तथा जनस्वास्थ्यका क्षेत्रमा वैज्ञानिक विधि र अनुसन्धानको बढ्दो महत्वमाथि जोड दिइएको थियो।

आईएसएसआर नेपालले सेमिनार सफल बनाउन सहयोग गर्ने विभिन्न सहकार्यकारी संस्था, वक्ता, प्यानल सदस्य, सहभागी तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेको छ। उनीहरूको सामूहिक योगदानले नेपालमा खेलकुद विज्ञानसम्बन्धी शिक्षा तथा अनुसन्धानलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको संस्थाले जनाएको छ।

आईएसएसआर नेपालले वैज्ञानिक अनुसन्धानको प्रवर्द्धन, खेलकुद विज्ञानसँग सम्बन्धित जनशक्तिको व्यावसायिक विकास तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाबीच सहकार्यका अवसर सिर्जना गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

नेपालको खेलकुद क्षेत्रको दिगो विकासमा खेलकुद विज्ञानको महत्वपूर्ण भूमिका रहने भन्दै आईएसएसआर नेपालले आगामी दिनमा पनि शैक्षिक तथा व्यावसायिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विज्ञान, सहकार्य र नवीनताको माध्यमबाट नेपालको खेलकुद विज्ञानलाई अझ सुदृढ र प्रभावकारी बनाउने आफ्नो लक्ष्यमा संस्था अघि बढिरहेको जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ