राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार सुरु, संघका समस्या समाधान गर्न राखेप प्रतिबद्ध

काठमाडौं, साउन ८ गते।
राष्ट्रिय तेक्वान्दो संघ–नेपालको आयोजनामा सातौं राष्ट्रिय क्योरुगी रेफ्री सेमिनार, छैटौं राष्ट्रिय क्योरुगी रेफ्री रिफ्रेसर कोर्स, पाँचौं राष्ट्रिय पुम्से रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर कोर्स आजदेखि काठमाडौंमा सुरु भएको छ।

दशरथ रंगशालामा आयोजित तीनदिने कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र बोर्ड सदस्य सिक्का सुवालले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। कार्यक्रम साउन ८, ९ र १० गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा बोल्दै राखेपका उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय तेक्वान्दो संघले भोगिरहेका समस्या समाधानका लागि परिषद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सेमिनारलाई निष्पक्ष, पारदर्शी र सफल रूपमा सम्पन्न गर्न सबै सहभागी तथा आयोजकलाई आग्रह गर्नुभयो।

बोर्ड सदस्य सिक्का सुवालले पनि तेक्वान्दो खेलको विकासका लागि दक्ष रेफ्री उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता प्रशिक्षणले नेपाली तेक्वान्दोको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका संस्थापक संयोजक प्रा. डा. रामकृष्ण महर्जन, नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहन कार्की, नेपाल कराते महासंघका संरक्षक उपाध्यक्ष प्रदीप जोशी, राष्ट्रिय तेक्वान्दो संघ–नेपालका उपाध्यक्ष ध्रुव घले, उपाध्यक्ष हरि बहादुर बुढाथोकी, महासचिव राकेश कुमार राई, कार्यक्रम सञ्चालक सञ्जयलाल श्रेष्ठलगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष तथा महासचिवले संघले गर्दै आएका गतिविधि, खेल विकासका प्रयास तथा विभिन्न निकायमा पठाइएका सिफारिस र निर्णयहरूलाई अपेक्षित रूपमा कार्यान्वयन नभएकोप्रति गुनासो व्यक्त गर्नुभयो। उहाँहरूले तेक्वान्दोको समग्र विकासका लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग र समन्वय हुनुपर्नेमा जोड दिनुभयो।

आयोजकका अनुसार सेमिनार तथा रिफ्रेसर कोर्सको उद्देश्य रेफ्रीहरूको प्राविधिक ज्ञान, निर्णय क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लागू भएका नवीन नियम तथा मापदण्डबारे प्रशिक्षण प्रदान गर्नु हो।

कार्यक्रममा क्योरुगी र पुम्सेसम्बन्धी अद्यावधिक नियम, निर्णय प्रक्रिया, व्यवहारिक अभ्यास तथा निर्णायकको भूमिका प्रभावकारी बनाउने विषयमा अनुभवी प्रशिक्षक र प्राविधिक विज्ञहरूले प्रशिक्षण प्रदान गर्नेछन्।

राष्ट्रिय तेक्वान्दो संघ–नेपालले यस प्रशिक्षणबाट नेपाली तेक्वान्दोका रेफ्रीहरूको क्षमता थप सुदृढ हुने, अन्तर्राष्ट्रिय स्तरका दक्ष निर्णायक उत्पादनमा सहयोग पुग्ने तथा खेलको गुणस्तरीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

उद्घाटन सत्रको समापनमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ