
नेपाली फुटबलको विकास, पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको हकहित संरक्षण र युवा प्रतिभा उत्पादनलाई लक्ष्य बनाएको संस्था फुटबलर्स मिसन टुगेदरको तेस्रो साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले भिक्टर जङ्ग बहादुर राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाली फुटबलको विकासका लागि विभिन्न महत्त्वपूर्ण कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौंमा शनिबार सम्पन्न फुटबलर्स मिसन टुगेदरको तेस्रो साधारण सभाले भिक्टर जङ्ग बहादुर राणाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

काठमाडौं, साउन ९ गते।
नयाँ कार्यसमितिको उपाध्यक्षमा विज्ञान राज शर्मा, निराजन विक्रम राणा, सरिला श्रेष्ठ, उपेन्द्र मान सिंह र विराट जङ्ग शाह, महासचिवमा धिरेन्द्र प्रधान, कोषाध्यक्षमा बसन्त कुमार लामा, सह–कोषाध्यक्षमा कमला हिराचन तथा सदस्यहरूमा राजेश मानन्धर र दीपा क्षेत्री चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले फुटबलर्स मिसन टुगेदरले नेपाली फुटबलको विकासमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता संस्थाले पूर्व खेलाडीको सम्मान र नयाँ पुस्ताका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा परिषद्को तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

साधारण सभामा संस्थाका उपाध्यक्षले विगतका गतिविधिको समीक्षा गर्दै ग्रासरुट फुटबल, विद्यालय फुटबल, भेट्रान्स फुटबल तथा खेलाडी सम्मान कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले क्लबहरूबीचको सहकार्य विस्तार गर्दै यू–११ र यू–१४ उमेर समूहका खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिने र दुर्गम क्षेत्रका प्रतिभालाई पनि अवसर दिइने बताउनुभयो।
यसैगरी, कोषाध्यक्ष बसन्त कुमार लामाले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय विवरण सभासमक्ष पेश गर्नुभयो। उहाँले संस्थाको आर्थिक अवस्था सन्तोषजनक रहेको र आगामी कार्यक्रमहरू पारदर्शी तथा व्यवस्थित ढंगले सञ्चालन गरिने जानकारी दिनुभयो। आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो।
नवनिर्वाचित अध्यक्ष भिक्टर जङ्ग बहादुर राणाले नेपाली फुटबलको समग्र विकास, पूर्व खेलाडीहरूको सम्मान तथा युवा प्रतिभाको उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफूले प्राप्त गर्ने पारिश्रमिकबाट वार्षिक दुई लाख रुपैयाँ संस्थालाई सहयोग गर्ने घोषणासमेत गर्नुभयो।
साधारण सभाले ग्रासरुट फुटबल कार्यक्रम, विद्यालय फुटबल कार्यक्रम, भेट्रान्स फुटबल प्रतियोगिता, खेलाडी सम्मान कार्यक्रम तथा प्लेयर्स वेलफेयर फन्डलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। खेलाडीहरूको स्वास्थ्य उपचार, फिजियोथेरापी तथा औषधि उपचारमा सहुलियत उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरिने पनि जनाइएको छ।
यस अवसरमा फुटबलर्स मिसन टुगेदरले एनएमबी बैंक, केसी ग्रुप अफ कम्पनीज, यो यो मो नेपाल, कार्की ब्यांक्वेट, चिन्डिट्स सेक्युरिटी तथा ट्रिनिटी इन्टरनेशनल कलेजसँग आगामी तीन वर्षका लागि औपचारिक समझदारी सम्झौतासमेत गरेको छ।
संस्थाले तल्लो तहदेखि प्रतिभावान खेलाडी उत्पादन, पूर्व खेलाडीहरूको कल्याण तथा नेपाली फुटबललाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अभियानलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
