
काठमाडौं, साउन ८ गते ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय शृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार सम्पन्न खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि नेपालको शीर्ष चारमा रहेर विश्वकप छनोट यात्रालाई बलियो बनाउने सम्भावनामा थप धक्का लागेको छ।
यसअघि शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो। लगातार दुई खेलमा हार बेहोरेपछि नेपाली टोली दबाबमा परेको छ भने बाँकी खेलहरू जित्नुपर्ने अवस्था सिर्जना भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५७ रनको सामान्य योगफल तयार गरेको थियो। सुरुआती ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो स्कोर बनाउन असफल रह्यो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रनको योगदान दिए। उनले कठिन परिस्थितिमा इनिङ सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याट्सम्यानबाट उल्लेखनीय साथ पाउन सकेनन्। गुल्सनकुमार झाले २९ रन, दीपेन्द्रसिंह ऐरीले २१ रन, आसिफ शेखले १४ रन बनाए। अन्तिमतिर करण केसीले अविजित १३ तथा सोमपाल कामीले १० रन जोड्दै टोलीको स्कोर केही उकास्ने प्रयास गरेका थिए।
नेदरल्यान्ड्सका बलरहरूले सुरुदेखि नै नेपालमाथि दबाब कायम राखेका थिए। एलेक्स रोय र अनुभवी स्पिनर रोएलोफ भान डेर मर्वेले समान तीन–तीन विकेट लिए। लोगन भान बिकले दुई तथा कायल क्लाइनले एक विकेट लिएर नेपाललाई मध्यम स्कोरमै सीमित गर्न महत्वपूर्ण भूमिका खेले।
१५८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले सुरुआती केही विकेट गुमाए पनि कप्तान स्कट एड्वाड्र्सको संयमित र जिम्मेवार ब्याटिङको मद्दतले ४४ ओभर १ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
कप्तान एड्वाड्र्सले ८२ बलमा दुई चौका र एक छक्काको सहयोगमा अविजित ६१ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। नोआ क्रस ३४ रनमा अविजित रहे भने कार्डिक डे लांग र ज्याक लायन क्याचेटले समान २१–२१ रनको योगदान दिए। आवश्यक साझेदारी निर्माण गर्दै उनीहरूले नेपाललाई खेलमा पुनरागमन गर्ने अवसर दिएनन्।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान एक–एक विकेट लिए पनि अन्य बलरले नेदरल्यान्ड्सको ब्याटिङलाई प्रभावकारी रूपमा रोक्न सकेनन्।
यस जितसँगै नेदरल्यान्ड्सले २९ खेलबाट ३४ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ। पराजित नेपाल भने ३० खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ।
लगातारको हारपछि नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। अब नेपालले शृंखलाको तेस्रो खेलमा सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष स्थानको होडमा आफूलाई कायम राख्न नेपालका लागि उक्त खेल ‘गर या मर’ जस्तै बन्ने अपेक्षा गरिएको छ। ब्याटिङमा निरन्तरता, बलिङमा अनुशासन र फिल्डिङमा सुधार गर्न सके मात्र नेपालले पुनरागमन गर्ने सम्भावना बलियो हुने छ।