
काठमाडौं, साउन ७ गते ।
छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिताको सिनियर छात्रामा कएमसीकी वियन्का गौतम छनोट चरणमा सत प्रतिशत अङ्क सहित अन्तिम चरणमा प्रवेश गरेकी छिन् ।
छात्रा ८ देखि १० कक्षा समूहमा नितेन मेमोरियल र मनकामना स्कुल प्रभावशाली रहे । दुवै विद्यालयका ३ खेलाडी सो समूहमा अन्तिम २० मा पर्न सफल भए । छात्र तर्फ पाठशालाका ओसकार पन्थले सत प्रतिशत जित हात पारे । छात्राको कक्षा ६ र ७ समूहमा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठले सत प्रतिशत सफलता पाइन् । सो स्पर्धामा त्रियोग स्कुलका सबै भन्दा धेरै ३ जना अन्तिम चरणमा प्रवेश गरे । छात्र तर्फ पुष्प सदनका हार्दिक पन्तले सत प्रतिशत सफलता पाए ।
८ स्पर्धा समावेश रहेको प्रतियोगितामा ६ सय भन्दा बढी खेलाडीको सहभागिता छ । त्रियोग हाइ स्कुलको आयोजनामा जारी ३ दिने प्रतियोगिताको पहिलो बुधवार दिन चार समूहका छनोट खेल भएका थिए । शुक्रवार ८ वटै समूहको अन्तिम चरणको खेल हुने छ ।
चारवटै समूहका शीर्ष २० स्थान पाउने खेलाडी शुक्रवार हुने अन्तिम चरणमा प्रवेश गरेका हुन् । हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण भने विद्यालयको ४० औ स्थापना दिवसको उपलक्ष्यमा भएको हो ।