एटीयुको टेक्निकल कमिटीमा बब्लु


काठमाडौं, साउन ७ गते ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक बब्लु सिवाकोटी एसियाली तेक्वान्दो युनियन (एटीयु) को टेक्निकल कमिटी सदस्यमा नियुक्त भएका छन् । नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यसमेत रहेका बब्लुलाई एटीयुले १ जनवरी २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म लागू हुने गरी टेक्निकल कमिटी सदस्यमा नियुक्त गरेको  हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न विदेशमा रहेका बब्लुले हालै नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङबाट एटीयुको प्रमाणपत्र लिएका छन् ।
विगत साढे दुई दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा सक्रिय रहँदै आएका बब्लु कुशल खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय निर्णायकसँगै नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यका रुपमा वयवस्थापकीय भूमिकामा पनि सक्रिय रुपमा संलग्न छन् । उनले दुई कार्यकालदेखि संघको केन्द्रीय कार्यसमितिमा रहेर काम गर्दै आएका छन् ।
तेक्वान्दोको छैटौं डान प्राप्त गरिसकेका बब्लुले संघको केन्द्रीय सदस्यसँगै टेक्निकल डेलिगेट्स (टीडी) को भूमिका पनि निर्वाह गर्दै आएका छन् । उनले टीडीको भूमिकामा विभिन्न प्रतियोगितालाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन मात्रै गर्दै आएका छैनन्, राष्ट्रिय स्तरका प्रतियोगिताका लागि स्पष्ट मापदण्डको निर्धारण पनि गरिदिएका छन् । यससँगै नेपालमै केही नयाँ प्रयोग पनि सुरु गरेका छन् ।
बब्लुले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् । उनले तेक्वान्दोको वल्र्ड च्याम्पियनसिप पनि खेल । सन् २०२४ को नोभेम्बर ३० देखि डिसेम्बर ४ सम्म हङकङमा आयोजना भएको वल्र्ड च्याम्पियनसिपमा उनले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा उनले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए ।
बब्लु तेक्वान्दोको ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका उनले सन् २०२४ सेप्टेम्बर १७ देखि २५ तारिखसम्म आयोजना भएको पुम्से रेफ्री कोर्स उत्तीर्ण गरेका थिए ।
उनले जापान, भियतनाम, मलेसिया, अस्ट्रेलिया, मंगोलिया, श्रीलंका, बंगलादेश, चीनलगायतका मुलुकमा पुगेर निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । श्रीलंकामा त उनी उत्कृष्ट अन्तर्राष्ट्रिय निर्णायकसमेत चुनिएका थिए । यससँगै उनले रेफ्रीको नयाँ नियमका बारेमा जानकारी लिन भारत र काजकिस्तानमा ‘रिफ्रेसर कोर्स’ पनि लिएका थिए ।
सीतापाइला डोजाङमार्फत कुशल र उत्कृष्ट खेलाडी उत्पादन गर्दै आएका उनले वल्र्ड च्याम्पियनसिपमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । लेभल टु प्रशिक्षक कोर्स उत्तीर्ण उनले सन् २०२३ मा अजरबैजानको बाकुमा आयोजना भएको वल्र्ड च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सीतापाइला डोजाङका खेलाडीले पनि राष्ट्रियसँगै अन्तर्राष्ट्रिय एरिनामा पनि नेपालको झन्डा फहराइसकेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ