
काठमाडौं, साउन ७ गते ।
काठमाडौं महानगरपालिका ज्याठास्थित ऐतिहासिक नेपाल व्यायाम मन्दिरमा निर्माण गरिएको आधुनिक व्यायामशालाको उद्घाटन गरिएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले एक विशेष कार्यक्रमबीच रिबन काटेर व्यायामशालाको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा खेलकुदकर्मी, स्थानीय जनप्रतिनिधि, कलाकार ,समाजसेवी, व्यायाम मन्दिरका पदाधिकारी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले आधुनिक व्यायामशालाले युवा पुस्तालाई नियमित व्यायाम, शारीरिक तन्दुरुस्ती र खेल संस्कृतिको विकासतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए।
उद्घाटनपछि कार्यवाहक नगर प्रमुख डंगोलले आधुनिक व्यायामशालाको निरीक्षण गर्दै त्यहाँ उपलब्ध गराइएका व्यायाम उपकरण, प्रशिक्षण कक्ष तथा समग्र पूर्वाधारको अवलोकन गर्नुभयो। निरीक्षणपछि उहाँले नेपाल व्यायाम मन्दिरको व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना दिँदै काठमाडौं महानगरपालिका खेलकुद पूर्वाधारको विकास र खेल संस्थाहरूको सुदृढीकरणका लागि निरन्तर साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले स्वस्थ नागरिक निर्माणका लागि खेलकुद र नियमित व्यायाम अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता संस्थाले समाजमा स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गरिरहेको धारणा व्यक्त गर्नुभयो। स्थानीय तह र खेल संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै खेल गतिविधि विस्तार गर्न महानगरपालिका सदैव सकारात्मक रहने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले संस्थाको इतिहास र वर्तमान अवस्थाबारे जानकारी गराउँदै व्यायाम मन्दिरले लामो समयदेखि खेलकुद तथा शारीरिक अभ्यासको क्षेत्रमा योगदान दिँदै आएको बताउनुभयो। उहाँले आधुनिक व्यायामशाला निर्माण हुनु संस्थाका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले खेल गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो।
यस अवसरमा अध्यक्ष प्रधानले राष्ट्रिय खेलकुद परिषद् राखेपबाट सहयोग प्राप्त नभयको गुनासो पनि गर्नुभयो। खेलकुद संस्थाहरूको दिगो विकासका लागि सम्बन्धित निकायबाट आवश्यक बजेट, पूर्वाधार र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। राज्यका निकायहरूले पुराना तथा ऐतिहासिक खेल संस्थाप्रति विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
वि।सं। २०१० सालमा स्थापना भएको नेपाल व्यायाम मन्दिर नेपालको पुराना र प्रतिष्ठित व्यायाम तथा खेल संस्थामध्ये एक मानिन्छ। दशकौँदेखि यस संस्थाले शारीरिक व्यायाम, फिटनेस, अनुशासन र खेल संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नयाँ आधुनिक व्यायामशालाको सञ्चालनसँगै युवा पुस्तालाई गुणस्तरीय प्रशिक्षण, आधुनिक उपकरणको प्रयोग तथा स्वस्थ जीवनशैली अपनाउन थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले आधुनिक व्यायामशालाको उद्घाटनले काठमाडौंमा खेल पूर्वाधार विस्तारको अभियानलाई नयाँ ऊर्जा दिएको उल्लेख गर्दै सरकारी निकाय, स्थानीय तह र खेल संस्थाबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए। उद्घाटनसँगै नेपाल व्यायाम मन्दिरले आफ्नो ऐतिहासिक विरासतलाई आधुनिक सुविधासँग जोड्दै खेलकुद र स्वास्थ्य प्रवर्द्धनको अभियानलाई नयाँ चरणमा प्रवेश गराएको विश्वास व्यक्त गरिएको छ।