एसियन यूथ चेसमा सहभागी हुन टोली चीन प्रस्थान 

काठमाडौँ, असार ३० गते ।

नेपाल बुद्धिचाल महासङ्घको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन यूथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन नेपाली युवा चेस टोली चिन प्रस्थान गरेका छन्।

चीनको सेनजेन सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सिएम पुरुषोत्तम सिलवाल, आयुष भण्डारी, अग्रिम शैंजु, श्रेषा दुवाल र निहाना श्रेष्ठलाई नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन तथा महासङ्घका प्रवक्ता राजु ताम्राकारले बिदाइ गरेका छन्।

टोलीमा सहभागी सिएम पुरुषोत्तम सिलवालले केही समय अगाडि मात्र भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खेलमा ग्रायण्ड मास्टरलाई पराजित गरेका थिए। यस्तै निहाना श्रेष्ठले काजकिस्तानमा भएको खेलमा व्यक्तिगत विधामा नेपाललाई अन्तर्राष्ट्रिय रजत पदक दिलाएका थिए ।

नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय सदस्य निता श्रेष्ठ शैंजुको व्यवस्थापकीय नेतृत्वमा १० दिनका लागि युवा खेलाडीहरू अन्तर्राष्ट्रिय चेस खेलमा प्रतिस्पर्धा गर्नेछन्। 

विगत केही समय देखि नेपाली युवा तथा सिनियर खेलाडीहरू निरन्तर रूपमा अन्तर्राष्ट्रिय एरिनामा स्पर्धा गर्न विभिन्न राष्ट्रहरूमा यात्रा गरिरहेको महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन्।

प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिभावकहरू सँग कुराकानी गर्दै खेलाडी विदेश यात्रामा हुँदा मानव तस्करी जस्ता गम्भीर आरोप लाग्ने गरेको सुनाउँदै अहिले सम्म चेस खेलाडी सबै नेपाल फर्किएको बताएका छन्।

ताम्राकारले एसियाली स्तरको प्रतियोगितामा नेपालको सहभागिताले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने तथा भविष्यमा ठुला प्रतियोगिताका लागि थप आत्मविश्वास प्राप्त हुने अपेक्षा गरिएको बताए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ