पहिलो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, असार ३० गते ।

नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनको जित दर्ता गरेको छ ।

सोमबार ग्रानभिलमा नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमा समेटियो ।

जर्सीका चार्ली ब्रेनन ८२ रनमा अविजित रहे । डानियल बिरेलले ४१ रन बनाए ।

नेपालका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए । आरिफ शेखले तीन, करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५० रनको योगफल तयार पारेको थियो ।

नेपाल ३१औँ ओभरमा १५८–२ को अवस्थामा रहँदा वर्षाका कारण करिब डेढ घण्टा खेल रोकिएको थियो । तर, खेल ओभर नघटाइ पुनः सुरु भएको थियो ।

नेपालका कुशल भुर्तेल सर्वाधिक १०५ रनको योगदान गरे । उनले ११७ बल खेल्दै १३ चौका प्रहार गरे । भीम सार्कीले ३९, हेमन्त धामीले १९, आसिफ शेखले १६, कप्तान रेहितकुमार पौडेलले १५, करण केसी र सन्दीप लामिछानेले १३/१३ तथा आरिफ शेखले ११ रन बनाए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ