
काठमाडौं, असार २७ गते ।
नेपाल कराते महासंघअन्तर्गत नेपाल सितिरियो कराते सङ्घको कराते प्रशिक्षण केन्द्र काठमाडौंको टोखा नगरपालिका–१०, गंगबुमा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

प्रमुख अतिथि टोखा नगरपालिका–९ का वडा अध्यक्ष रामभक्त घिमिरे तथा विशेष अतिथि नेपाल कराते महासंघका संस्थापक सदस्य राजीव थापाले संयुक्त रूपमा रिबन काटेर प्रशिक्षण केन्द्रको उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष मछिन्द्र सिंह, मधु लाम,अकबर शाह,राजेन्द्र कपाली कार्यक्रम संयोजक रामकुमार थारु, लक्ष्मण खड्का लगायतका पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहकै अवसरमा सिङ्गापुर र बङ्गलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने नेपाली कराते खेलाडी तथा प्रशिक्षकहरूलाई खादा र मालासहित सम्मानपूर्वक बिदाइ गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कराते महासंघका संस्थापक सदस्य राजीव थापाले नवस्थापित प्रशिक्षण केन्द्रले नेपाली करातेको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने खेलाडी तथा प्रशिक्षकलाई सफलताको शुभकामना दिँदै नेपालको गौरव उच्च राख्न आग्रह गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि वडा अध्यक्ष रामभक्त घिमिरेले स्थानीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै करातेलगायत सबै खेलको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूलाई अनुशासन, मेहनत र निरन्तर अभ्यासमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपाललाई विश्वसामु चिनाउन प्रेरित गर्नुभयो।
सोही अवसरमा कराते खेलको विकास र प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै महमद जाबेद लाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।


कार्यक्रममा प्रशिक्षक, खेलाडी, अभिभावक तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै कराते खेलको विस्तार, नयाँ प्रतिभाको खोजी तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
