ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगिता शनिवार सम्पन्न भएको छ।
जसअन्तर्गत मंगलबारदेखि सुरु भएको प्रतियोगिताको महिलातर्फको उपाधि भने बेथानचोक गाउँपालिकाले जितेको छ। फाइनलमा काठमाडौँ महानगरपालिकालाई २५-१६ ,२१-२५,२५-१४ र २५-८ को स्कोरमा पराजित गर्दै बेथानचोक गाउँपालिका प्रथम भएको हो।

अर्कोतर्फ़ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरुषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई सोझो सेटमा ३–० ले पराजित गर्दै च्याम्पियन बन्यो। ललितपुरले महांकाललाई २५–२०, २५–१५ र २५–२० को स्कोरमा पराजित गरेको हो।
यसैबीच कार्यक्रम समापनका अवसरमा विजयी टिमहरुलाई पुरस्कृत गरिएको छ।विजेतालाई कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन,विशेष अतिथिहरुमा ललितपुर महानगरपालिकाकि उप प्रमुख मन्जली शाक्य बज्राचार्य , नेपाल भलिबल संघका पुर्व अध्यक्ष मनोरंजनरमण शर्मा, नेपाली भलिबल राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, आयोजक जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष माधव खड्का लगायतले संयुक्त रुपमा पुरस्कृत गर्नुभयो। जसअनुसार दुवै विधामा प्रथम हुनेलाई दुई`लाख पुरस्कार प्रदान गरियो भने दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरियो ।बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको थियो।
