बागमती प्रदेशस्तरीय मेयर कप: ललितपुर र माडी तेस्रो 

काठमाडौं असार २६ गते 

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगितामा महिलातर्फ ललितपुर महानगर तेस्रो भएको छ। 

शुक्रबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा ललितपुर महानगरले गौरीशंखर गाउँपालिकालाई ३ -१ को सेटमा हराउँदै तेस्रो स्थान सुनिश्चित गरेको हो । ललितपुरले २५ -२१, १६- २५, २५ -२३, २५- २३ को सेटमा गौरीशंखरलाई हराएको हो । 

त्यस्तै पुरुषतर्फ भने माडी गाउँपालिका तेस्रो बनेको छ । शुक्रबार भएको खेलमा माडीले मेलुङ गाउँपालिकालाई ३ -० को सोझो सेटमा हराउँदै तेस्रो स्थान सुनिश्चित गरेको हो । माडीले २५ -२१, २५ -२३, २५ -१६ को सेटमा मेलुङलाई हराएको हो ।

शनिबार हुने फाइनल खेलमा भने पुरुषतर्फ ललितपुर महानगर र मांहाकाल गाउँपालिका भिड्ने छन् भने महिलातर्फ काठमाडौँ महानगर र बेथानचोक गाउँपालिका भिड्ने छन् । खेल बिहान ८ बजे र दिउँसो १ बजे हुने छ। 

प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ